झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका प्यूठानको भवन निर्माण कार्य शुरु भएको छ । गाउँपालिका कार्यालय भ्यागुतेमा निर्माण हुने भवनको गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले विहिवार शिलन्यास गरे । बहुवर्षिय योजना अन्तर्गत निर्माण हुने भवन आउँदो डेढ वर्षभित्र पुरा गर्ने लक्ष्य रहेको गाउँपालिका सूचना अधिकारी एवं नायव सुव्वा निमप्रसाद भण्डारीले जानकारी दिए । २०७८ जेठ मसान्तभित्र भवन निर्माण गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको उनले बताए ।

भ्याट सहित ६ करोड ५७ लाख ३५ हजार ७ सय २४ रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी रविना÷आँशु÷मल्लरानी जेभीले निर्माणको जिम्मा लिएको छ । ‘लकडाउन कायमै रहे गाह्रो होला’,निर्माण व्यवसायी बालाजु श्रेष्ठले भने,‘समय अनुकुल भएमा निर्धारित समयमा नै भवन निर्माण पुरा गर्छौ ।’ व्यवसायी श्रेष्ठले जिल्लामा दर्जनौ सरकारी भवनहरु सम्झौता गरिएको समय अगावै निर्माण पुरा गरेर पहिचान बनाएका छन् ।

चार तलाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपनि हाललाई दुई तलाको सुविधा सम्पन्न भवन निर्माण हुने गाउँपालिकाले जनाएको छ । भवनमा २२ वटा कोठा, बैठक कक्ष, आपतकालिन ढोका, भण्डार कक्ष लगाएत निर्माण हुने छन् । केही वर्ष भाडाका भवनमा संचालन भएको र हाल सभाहललाई विभाजन गरेर कार्यालय संचालन गरिएको छ ।
