प्यूठान : झिमरुक गाउँपालिका प्यूठानले पालिकाका एक क्याम्पस सहित १३ वटा सामुदायिक विद्यालयमा कानूनी शिक्षा तथा न्यायिक सचेतना कार्यक्रम गरेको छ । उक्त कार्यक्रमबाट १ हजार २ सय विद्यार्थी र एक सय बढी शिक्षकहरु प्रत्यक्ष लाभांवित भएका छन ।
स्थानीय सरकार भनेको के हो, यसको गठन प्रकृया र बिकास र सेवाको हिसाबले कस्ता कस्ता काम गर्छ, पालिकाको न्यायिक समिति के हो ? यसले के काम गर्छ ? समुदाय स्तरमा हुने मुद्दा मामिलालाई गाउँतहबाटै कसरी मेलमिलाप गर्न सकिन्छ जस्ता विषयमा शिक्षा दिइएको थियो । गाउँपालिकाको न्यायीक समितिले आयोजना गरेको कार्यक्रममा बालविबाह, छिटो विवाह गर्दा हुने असर, त्यसबारे कानूनी कारवाही लगायतका विषयमा प्रशिक्षित गरिएको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायीक समितिका संयोजक प्रमोद पोख्रेलले बताए ।
‘ठूला भवन बनाउनु मात्र विकास होइन्’,पोख्रेलले भने,‘नागरिकलाई विद्यमान कानूनी शिक्षा पनि दिनुपर्छ । सामान्य कानुनी शिक्षा पनि नपाउँदा धेरै नागरिकले अनाहकमै दुःख झेल्नुपरेको कैंयन उदाहरण छन ।’ उनले न्यायीक शिक्षा सम्वन्धी कार्यक्रमलाई हरेक वर्ष सवै विद्यालय र समुदाय स्तरमा लैजाने गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको जानकारी गराए । उनले नागरिकको चेतनास्तर माथी उठ्दा वित्तिकै सभ्य समाज निर्माण गर्न सकिने अनुभव सुनाए ।
जनता मावि टिमुरचौरका प्रधानाध्यापक बिजयसागर गिरीले स्थानीय सरकार, न्यायिक समितिको कार्यक्षेत्र, कानुनी पहुँच, मेलमिलाप, बालविवाह निवारण, लागूपदार्थ दुरुपयोग रोकथाम लगायतका विषयमा कानूनी साक्षरता सम्वन्धी ज्ञान मिलेको सुनाए । कार्यक्रम कानुनी साक्षरताको अभ्यास मात्र नभई मानवीय चेतनाको पूर्नजागरण रहेको बलभद्र मावी बादीकोटका प्रधानाध्यापक शेर बहादुर थापाले अनुभव सुनाए ।
न्यायीक जागरण अभियानकै रुपमा संचालित उक्त सरकारी वकिल, प्रहरी अधिकृत, प्राध्यापक, कानुनी सल्लाहकार लगायत विषय विज्ञ प्रशिक्षकहरूले सहभागीहरुलाई फरक–फरक विषयमा प्रशिक्षण दिएको प्रशिक्षक एवं सरकारी वकिल नरेन्द्र देवकोटाले जानकारी दिए । कार्यक्रमलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा समेत सम्वोधन गरेर अगाडी बढाउने योजना बनाएको गाउँपालिकाका सहायक अधिकृत एवं न्यायीक समितिका सदस्य यामलाल पोखरेलले जानकारी दिए ।