बांगेमरोठ (प्यूठान) : २६ वर्षिय दामोदर खत्री । सात वर्ष अघि बुवा र ६ वर्ष पहिले आमा गुमाए । घरको एक मात्र छोरा । राम्रोसँग बोल्न र कुरा गर्न सक्दैनन् । इशारामा कुरा गर्नुपर्छ । बुवा आमाको मृत्युपछि बेसहारा बने । पढ्न पाएनन् । अभिभावक विहिन बनेका खत्री एक वर्ष अघिदेखि उपचारै नपाएर घरमै थलिएका छन् । देब्रे खुट्टा सुनिन्एर चुढिनै थालेको छ । औँलामा घाउँ बनेर खस्नै आँटिसके । दुःखेर हिड्नै सक्दैनन् ।
गरिबको झुपडीमा हुर्किएका झिमरुक गाउँपालिका ४ बांगेमरोठ चौर घिचका खत्री उपचार नपाएरै पीडाको दैनिकी गुजारिरहेका छन् । फोहोर टालाले जसोतसो चुडिनै थालेका औँला बचाएर राखेका छन् । आमा बुवाको साथ टुटेपछि बेसहारा बनेका उनलाई विवाह भएकी एकमात्र दिदीले जसोतसो पालनपोषण गरेर राखेकी छिन् । आफँै गरिबी जीवन विताइरहेकी दिदी शान्ता जिसीलाइ भाईको उपचार गर्न मुश्किल छ । ‘मेरो माइती भनेपनि जे भनेपनि यही एउटा भाइ हो’,बिलौना गर्दै शान्ताले भनिन्,‘उपचार नपाएर भाई घरमा ढलेको छ । एकमात्र भाइलाई बचाउन पाए हुन्थ्यो ।’
भारतमा श्रीमानले गरेको जागिरले जसोतसो दुई छोरा र भाइको पालनपोषण गरेर बसेको उनले सुनाइन । ‘श्रीमान्ले इण्डिया उपचार गर्न पनि भाइलाई एकपटक लैजानुभयो’,जिसीले भनिन्,‘सात÷आठ लाख रुपैयाँ खर्च लाग्छ भनेपनि फर्काएर ल्यायौँ ।’ डाक्टरहरुले हात्तीपाइलेको शंका गरेपनि चेकजाँच गर्न नपाएरै भाइलाई घरमा राखेर बस्नुपरेको उनको दुःखेसो छ ।
जंगलको छेउँमा रहेको सानो झुपडीमा कष्टकर जीवन गुजारिरहेकी जिसीलाई भाइको उपचार गराएर माइतीको साहारा बन्ने ठूलो धोको छ । गतवर्ष काठमाण्डौँमा चेकजाँच गराउन जाँदा घाउ सुकाएर ल्याउनु भनेपनि त्यसपछि उनी फर्केर भाइको उपचार गराउन शहर पुग्न सकेकी छैनन् । गरिबको झुपडीमा जन्मिएका व्यक्तिहरु उपचारै नपाएर ओछ्यानमै थलिएर जीवन विताउन बाध्य भएका छन् ।
गाउँ गाउँमा स्थानीय सरकार संचालन भएपनि उनीहरुको नजर यसतर्फ पुग्न सकिरहेको छैन् । ‘बास्तविक गरिबहरुको उपचारमा राज्यले सहयोग गर्नुपर्छ’,लक्ष्मी मावी बांगेफेदीका प्रधानाध्यापक कर्ण बहादुर जिसीले भने,‘उपचार नपाएर गरिबी मृत्युको मुखमा पुग्नु हुँदैन् ।’ गाउँ गाउँमा भएका गरिबहरु जो उपचार नपाएर थलिएका छन्, उनीहरुको उपचारमा स्थानीय सरकारको पहलकदमी हुनुपर्ने समेत उनको सुझाव छ ।