आजभन्दा करिब ३५ वर्षअघि म बुटवल बहुमुखी क्याम्पसमा आई.एस्सी. पढ्दै थिएँ। त्यो समयको सरुमारानी र अहिलेको सरुमारानी सम्झँदा एउटा कुरा प्रस्ट देखिन्छ—हामीले ३५ वर्षमा धेरै लामो यात्रा तय गरेका रहेछौँ ।
त्यतिबेला दर्भानको रानीबास बजारबाट, हालको लोसार मैदानभन्दा पूर्वतर्फ तथा सिसौघारीको पूर्वतिर पर्ने आसपासबाट थोत्रा जिपमा भालुबाङ ओहोरदोहोर गरिन्थ्यो। बाटोको अवस्था यस्तो थियो कि ग्राभेलसमेत राम्रोसँग गरिएको थिएन। धेरै ठाउँ पैदलै हिँड्नुपथ्र्यो ।
दर्भानबाट बाङ्गेशालतिर जाने मोटरबाटो खुलेको थिएन। चौध नम्बर बगालेबाट आटिटार हुँदै बाङ्गेशाल जाने सडक पनि थिएन। दर्भान–रत्ने, गनाहा, ढाणलगायतका मोटरबाटो त परैको कुरा। बड्डाडाबाट हङ्सपुर हुँदै दुमै जाने बाटो, जस्पुर–पुठाखोला सडक, बायखोलाबाट बुढीचौर हुँदै मुर्कुटी–दाङ जोड्ने सडकजस्ता अहिलेका धेरै बाटाहरू त्यतिबेला अस्तित्वमै थिएनन् । समग्रमा भन्दा, हालको सरुमारानी गाउँपालिकाभित्र मुख्य भालुबाङ–प्युठान सडकबाहेक अन्य सडक सञ्जाल प्रायः थिएन ।
त्यतिबेला प्यूठान मात्र होइन, सिङ्गो देश नै विकासका हिसाबले निकै पछाडि थियो। झिमरुक जलविद्युत् आयोजना बनेको थिएन । सरुमारानी क्षेत्रभरि १० कक्षासम्म पढाइ हुने विद्यालयका रूपमा श्री सरस्वती माध्यमिक विद्यालय, बाङ्गेशाल मात्र रहेको अवस्था थियो। गाउँपालिकाभरि स्वास्थ्य संस्था थिएनन्। सामान्य सिटामोलसमेत सरकारी स्वास्थ्य संस्थाबाट सहजै पाइने अवस्था थिएन।
घरमै सुत्केरी गराउने चलन सामान्य थियो। आमा र शिशुको मृत्यु गाउँघरका लागि असामान्य घटना मानिँदैनथ्यो। छोरीहरू विद्यालय जाने अवस्था अत्यन्त न्यून थियो। छोराहरू पनि ४, ६ वा ८ कक्षा पढ्न अर्को गाउँमा डेरा गरेर, मासिक शुल्क तिरेर जानुपर्ने अवस्था थियो ।
गाउँमा उपचारका सहज माध्यम थिएनन्। हाम्रा ‘डाक्टर’ धामी, झाँक्री र गुरुवा हुन्थे भन्दा अहिलेका नानीबाबुहरूलाई पत्याउन गाह्रो होला। तर त्यो हाम्रो रहर थिएन, बाध्यता थियो। बिजुली थिएन । टेलिभिजन, मोबाइललगायतका विद्युतीय उपकरणको कल्पना पनि गर्न सकिँदैनथ्यो। जता हिँड्दा पनि पैदल। गाउँमा पसल–दोकान भर्खर फाट्टफुट्ट सुरु हुँदै थिए। अहिलेझैँ पसलबाट चामल किनेर खाने चलन थिएन। देउखुरीबाट घोडामा धान आउँथ्यो। मकै, कोदो, फापरलगायतका अन्न नै मुख्य खाद्यान्न थिए ।
हो, जीवन कष्टकर थियो। तर त्यस समयका आफ्नै केही राम्रा पक्ष पनि थिए। आजको पुस्तालाई त्यो समयको गाउँ–समाजको वास्तविक चित्र बुझाउन कठिन छ ।
त्यसैले अहिलेको अवस्थालाई मात्र हेरेर ‘३५ वर्षमा के भयो?’ वा ‘के गरे?’ भनेर निष्कर्ष निकाल्नुअघि एकपटक आफ्ना बुवाआमा, हजुरबा–हजुरआमासँग सोधौँ। त्यो पुस्ताको भोगाइ सुनौँ र त्यसपछि मूल्याङ्कन गरौँ। यसको अर्थ ३५ वर्षमा सबै कुरा ठीक भयो भन्ने होइन।
रोजगारी सिर्जनामा कमजोरी रहे। राजनीतिक अस्थिरता र द्वन्द्व भोग्नुप¥यो। भ्रष्टाचारका समस्या देखिए। वैदेशिक हस्तक्षेप र चलखेलका प्रश्न उठे। राजदरबार हत्याकाण्डदेखि सशस्त्र द्वन्द्वका क्रममा भएका हत्या, बेपत्ता, अंगभंगलगायतका दुःखद घटनाले देशलाई गहिरो घाउ दिए। तर यति हुँदाहुँदै पनि यही ३५ वर्षको अवधिमा धेरै चुनौतीको व्यवस्थापन हुँदै देशले शान्तिको सास फेर्न पाएको सत्यलाई पनि बिर्सनु हुँदैन।
सडक बने, गाउँमा बिजुली पुग्यो, विद्यालय बढे, स्वास्थ्य सेवाको पहुँच विस्तार भयो, सञ्चार र प्रविधिले गाउँ–गाउँ जोड्यो। चेतनाको स्तर बदलियो। जीवनका धेरै कठिनाइ सहजतामा रूपान्तरण भए। त्यसैले नकारात्मक भाष्य मात्र निर्माण गरेर गलत इतिहास नघोकाऔँ। राजनीतिक वा सामाजिक घृणा फैलाउने ढंगले विगतलाई भद्दा रूपमा प्रस्तुत नगरौँ।
विशेषगरी सामाजिक सञ्जाललाई समाज विभाजित गर्ने माध्यम होइन, सामाजिक एकता, सद्भाव र सहअस्तित्व जोगाउने माध्यम बनाऔँ। हाम्रो गाउँठाउँ र सिङ्गो देशको निर्माण कुनै व्यक्ति, दल वा समूहको मात्रै ठेक्का होइन। यो त बृहत् राजनीतिक तथा सामाजिक एकताबाट मात्र सम्भव हुने साझा यात्रा हो।
३५ वर्षमा भएका उपलब्धिलाई स्वीकार गरौँ, कमजोरीमाथि प्रश्न पनि गरौँ। तर प्रश्न गर्दा इतिहास नबिगारौँ, आलोचना गर्दा घृणा नफैलाऔँ र भविष्य निर्माण गर्ने जिम्मेवारीबाट नपन्छिऔँ। विगतलाई गाली गरेर होइन, विगतबाट सिकेर भविष्य बनाऔँ। हाम्रा बोली, व्यवहार र विशेषगरी सामाजिक व्यवहारलाई उच्च चेतनाका साथ स्वनियमन गरौँ।
यही अनुरोध र अपिल।
- अध्यक्ष, सरुमारानी गाउँपालिका, प्यूठान
(दोस्रो कार्यकाल)