प्यूठान : पर्याप्त विशेषज्ञ चिकित्सक र स्वास्थ्य जनशक्ति नहुँदा प्यूठान अस्पतालको सेवा प्रभावित हुँदै गएको छ । विशेषज्ञ चिकित्सकको अभाव, दरबन्दीअनुसार जनशक्ति पूर्ति नहुनु र आवश्यक सेवाका लागि बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यताले अस्पतालको सेवा प्रवाह चुनौतीपूर्ण बनेको हो ।
प्यूठान अस्पतालले प्यूठानका बिरामीसँगै छिमेकी जिल्ला रोल्पा, गुल्मी र अर्घाखाँचीका बिरामीलाई समेत सेवा दिँदै आएको छ। जिल्ला बाहिरबाट समेत उपचारका लागि बिरामी आउने अस्पतालमा आवश्यक विशेषज्ञ जनशक्ति अभाव हुँदा सेवा विस्तार र गुणस्तरीय उपचारमा थप चुनौती देखिएको छ ।
एन.एस.आई.सँगको सम्झौता अवधि सकिएपछि प्यूठान अस्पतालबाट चिकित्सकसहित झण्डै डेढ दर्जन स्वास्थ्यकर्मी बाहिरिएका छन्। अस्पतालमा ११औँ तहको मेसु तथा आठ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि स्वीकृत दरबन्दीअनुसार जनशक्ति उपलब्ध छैन ।
अस्पतालमा अहिले गाइनोलोजिस्ट, सिजेरियन (सी–सेक्सन) गर्न सक्ने एमडीजीपी र एनेस्थेसियोलोजिस्टको आवश्यकता छ। यी जनशक्ति उपलब्ध नहुँदा शल्यक्रिया सेवामा समस्या रहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेल बताउँछन्। आवश्यक विशेषज्ञ चिकित्सक उपलब्ध भए शल्यक्रियाका लागि बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था धेरै हदसम्म अन्त्य गर्न सकिने उनको भनाई छ।
यसैबीच अस्पताल विकास समिति जनशक्ति व्यवस्थापनका लागि प्रदेश तथा संघीय सरकारसँग निरन्तर पहलमा रहेको जनाएको छ। समितिका अध्यक्ष कृष्ण बस्याल (रोयल कृष्ण) अहिले काठमाडौंमै रहेर प्रदेश सरकार, संघीय सरकार तथा सम्बन्धित विभागमा जनशक्ति व्यवस्थापनका लागि पहल गरिरहेको बताउँछन्।
’केही दिनमै आवश्यक जनशक्ति फुलफिल हुने अवस्थामा छ। पहिलो पटक प्यूठान अस्पतालमा सर्जन सेवा पनि थपिने आशा पलाएको छ,’ बस्यालले भने, ’हामी निरन्तर लागि परेका छौँ।’
मन्त्रालयबाट अर्को फिजिसियन चिकित्सक पठाउनेबारे पत्र प्राप्त भइसकेको छ भने अर्थोपेडिक चिकित्सक पठाउनेबारे पनि पत्र आएको निमित्त मेसु डा. पौडेलले जानकारी दिएका छन्। तर अस्पतालको आवश्यकता भने यतिमै सीमित छैन। शल्यक्रिया सेवा विस्तारका लागि आवश्यक अन्य विशेषज्ञ जनशक्ति अझै व्यवस्थापन हुन बाँकी छ।
प्यूठान नगरपालिका पूर्व नगरप्रमुख अर्जुनकुमार कक्षपतिले अस्पतालमा स्वास्थ्य जनशक्ति खटनपटनका लागि राजनीतिक नेतृत्वले सहज वातावरण बनाउनुपर्ने बताएका छन्। अस्पतालको चौतर्फी विकासका लागि अस्पताल विकास समितिले आवश्यक समन्वय र सहकार्यको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाई छ।
अस्पतालमा कार्यरत पूर्व एमडीजिपी डा. सन्तोष केसीले अस्पताललाई व्यक्तिगत स्वार्थ, गुटबन्दी र राजनीतिक प्रभावको थलो बनाउन नहुने बताए। विशेषज्ञ सेवा विस्तारका लागि आवश्यक जनशक्ति नहुँदा जिल्ला अस्पतालले बिरामीलाई बाहिर पठाउनुपर्ने अवस्था रहिरहनु सेवाग्राहीका लागि अतिरिक्त खर्च र झन्झटको विषय पनि हो। त्यसैले प्यूठान अस्पतालमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको पदपूर्ति तत्काल गर्नुपर्ने माग बढ्दै गएको छ।
प्यूठान अस्पताल केवल जिल्लाको स्वास्थ्य सेवा प्रदायक संस्था मात्र नभई छिमेकी जिल्लाका नागरिकले समेत उपचार लिने अस्पताल भएकाले यसको जनशक्ति व्यवस्थापनलाई क्षेत्रीय स्वास्थ्य सेवासँग जोडेर हेर्नुपर्ने नागरिक सरोकार समाज प्यूठानका संयोजक सुमन सुवेदीले बताए।प्रदेश तथा संघीय स्वास्थ्य मन्त्रालयले दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउनुका साथै दुर्गम जिल्ला अस्पतालमा विशेषज्ञ जनशक्ति खटनपटनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ।
अस्पताल विकास समितिको पहलमा सर्जनसहित आवश्यक विशेषज्ञ जनशक्ति थपिने आशा पलाए पनि त्यसको प्रभावकारी कार्यान्वयन र निरन्तरता अब मुख्य चुनौती हुनेछ। आवश्यक जनशक्ति र विशेषज्ञ सेवा उपलब्ध गराउन सके मात्रै प्यूठानसँगै रोल्पा, गुल्मी र अर्घाखाँचीका बिरामीले समेत जिल्ला नजिकै गुणस्तरीय उपचार पाउने अवस्था बलियो बन्नेछ।