प्यूठान : नजिकिँदै गरेका चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्यूठान प्रहरीले विशेष सुरक्षा योजना अघि सारेको छ। सम्भावित आपराधिक गतिविधि नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित प्रहरीले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको हो।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले शुक्रबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा चाडपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी गराएका छन्। उनले भदौ महिनादेखि हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट सम्पादन भएका कामको प्रगति विवरण समेत प्रस्तुत गरे।
कार्यक्रममा जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्था, अपराध नियन्त्रण, प्रहरी सेवा प्रवाह तथा समसामयिक सुरक्षा चुनौतीबारे छलफल भएको थियो।
चाडपर्वका समयमा बजार तथा भीडभाड हुने क्षेत्रको निगरानी, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन र सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि अपनाइने उपायबारे प्रहरीले सञ्चारकर्मीलाई जानकारी गराएको छ। कार्यक्रममा सञ्चारकर्मीले उठाएका जिज्ञासा तथा सुझावमाथि डीएसपी अधिकारीले जवाफसमेत दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।