प्यूठान : जिल्ला प्रशासन कार्यालय प्यूठान झण्डै एक महिनादेखि निमित्त प्रमुख जिल्ला अधिकारीको भरमा सञ्चालन भइरहेको छ । गृह मन्त्रालयले महिना दिन वितिसक्दा समेत सहसचिव स्तरको प्रमुख जिल्ला अधिकारी जिल्लामा नखटाउँदा निमित्तकै भरमा कार्यालय चलिरहेको छ ।
अधिकार क्षेत्रको सीमाका कारण केही विशेष प्रकृतिका निर्णय गरेर सेवा दिन समस्या परिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी गराए । विशेषगरी वैवाहिक अंगीकृत नागरिकता वितरणको काम निमित्त प्रमुख जिल्ला अधिकारीबाट हुन नसक्दा उक्त सेवा प्रभावित भएको छ । सो सेवा लिन जिल्ला प्रशासन कार्यालय पुग्ने सेवाग्राही काम नभएपछि फर्किनुपर्ने अवस्था रहेको छ । भारतीय पेन्सनपट्टा सम्बन्धी सिफारिसमा पनि आफ्नो अधिकार क्षेत्र सीमित रहेको उनले बताए ।
पूर्णकालीन प्रमुख जिल्ला अधिकारीको खटनपटनका विषयमा आफूले मन्त्रालयमा फोन गरेर जानकारी लिएको राइले बताए । मन्त्रालयबाट अहिले सहसचिवहरू खाली नरहेको जानकारी दिँदै आफूलाई नै काम गर्दै जान भनिएको उनको भनाई छ ।
महिनादिन सम्म पनि प्रमुख जिल्ला अधिकारी नहुँदा सत्ता संचालन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुप्रति जिल्लाबासीले आक्रोश पोखेका छन् । प्यूठानबाट प्रतिनिधीत्व गर्ने संघीय सांसद् शुसान्त वैदिकले गृह जिल्ला सिडियो विहिन हुँदा बेखवर बनेर बसेको र उचित समन्वय नगरेको नागरिकहरुले गुनासो गरिरहेका छन् ।
यति लामो समयसम्म प्रमुख जिल्ला अधिकारी विहिन भएको यो पहिलो पटक भएको जिल्लाका नागरिकहरुले प्रतिक्रिया दिएका छन् । रास्वपाका जिल्लाका नेताहरुले नै सिडियो पठाउन नसक्नुले लज्जास्पद भइरहेको सामाजिक सञ्जालमै पार्टी र सांसद्प्रति आलोचना गरेका छन् ।