प्यूठान : दहखोलाका दशनामी महन्त गिरीहरूले गर्ने कुलपूजा मन्दिरको उद्घाटन गरिएको छ । शनिवार एक कार्यक्रमका बीच झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले मन्दिरको उद्घाटन गरेका हुन् । झिमरुक गाउँपालिका वडा नम्वर –६ दहखोलामा मन्दिर निर्माण गरिएको छ ।
उद्घाटन समारोहमा वडा नम्वर ६ वडा अध्यक्ष धनबहादुर पुन, वडा नम्वर ५ का अध्यक्ष दधिराम पोख्रल सहित वडाका जनप्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो । मन्दिर उद्घाटनसँगै आजकै दिन दशनामी महन्त गिरीहरूको परम्परागत कुलपूजा समेत भएको छ ।

कुलपूजाका अवसरमा नियमित पूजाआजा, लिङ्गो फेर्ने लगायतका धार्मिक विधिहरु समेत सम्पन्न भएका छन् । कुलपूजाको विशेष पक्षका रूपमा पशुबलि नदिने परम्परा छ । हिंसा, हत्या र मारकाट त्याग्दै शान्तिको कामना गर्ने मान्यता अनुसार कुलपूजामा पशु हत्या नगरिने गरिएको गिरीवन्धुहरु बताउँछन् ।
मन्दिर निर्माण तथा व्यवस्थापनमा सहयोग पु¥याउने दाताहरूको नाम उल्लेख गरिएको शिलालेखसमेत अनावरण गरिएको छ ।