चाडपर्व हाम्रो जीवनशैली, सामाजिक सम्बन्ध, धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएका महत्वपूर्ण पक्ष हुन्। नेपाली समाजमा मनाइने दसैँ, तिहार, छठ, माघी, ल्होसार, उधौली–उभौलीलगायतका पर्वले आ–आफ्नै धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको कुरा छिपेको छैन ।
यी पर्व केवल पूजाआजा, खानपान र मनोरञ्जनका अवसर मात्र होइनन्, परिवारको पुनर्मिलन, आफन्तबीचको आत्मीयता, सामाजिक सद्भाव र पुस्तान्तरण हुँदै आएको संस्कृतिको निरन्तरताका माध्यम पनि हुन्। तर समयसँगै चाडपर्व मनाउने शैलीमा परिवर्तन देखिन थालेको छ। आधुनिक जीवनशैली, बजार विस्तार, सामाजिक सञ्जालको प्रभाव र उपभोक्तावादी सोचले पर्व मनाउने तरिकालाई प्रभावित गरिरहेको यथार्थ हो।
परम्परागत संस्कार र सामूहिक आत्मीयताभन्दा कतिपय अवस्थामा आर्थिक हैसियत प्रदर्शन, महँगा सामग्रीको खरिद, भड्किलो खानपान र अनावश्यक प्रतिस्पर्धाले प्राथमिकता पाउन थालेको देखिन्छ। यही प्रवृत्तिले हाम्रो मौलिक संस्कृतिको संरक्षण र चाडपर्वको वास्तविक मर्मबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता देखाएको छ।
चाडपर्वमा देखासिकी र उपभोक्तावादी सोच
चाडपर्व नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढ्नु स्वाभाविक हो। नयाँ कपडा लगाउने, मिठा परिकार खाने, घरपरिवारलाई उपहार दिने र आफन्तसँग खुसी साटासाट गर्ने परम्परा पनि हाम्रो सामाजिक जीवनको एक हिस्सा हो। तर हाम्रो समाजमा आवश्यकताभन्दा बढी खर्च गर्ने, अरूको देखासिकीमा महँगा सामग्री खरिद गर्ने र सामाजिक प्रतिष्ठा देखाउनकै लागि खर्चको प्रतिस्पर्धा गर्ने प्रवृत्ति पछिल्लो समय सामाजिक चिन्ताको विषय बनेर आएको छ।
विशेषगरी सामाजिक सञ्जालले मानिसको जीवनशैली र उपभोगको व्यवहारमा प्रभाव पारिरहेको छ। कस्ले के लगायो, बजारमा नयाँ के चिज आयो, कहाँ को घुमे, कस्तो भोज गरे र कति खर्च गरे भन्ने कुरासँग आफ्नो जीवनशैलीको तुलना गर्ने प्रवृत्तिले अनावश्यक प्रतिस्पर्धालाई प्रोत्साहन गरिरहेको छ ।
यसको असर सबै परिवारमा समान हुँदैन। आर्थिक अवस्था कमजोर भएका परिवारले समेत सामाजिक दबाब वा देखासिकीका कारण आफ्नो क्षमताभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता बढेको छ। कतिपय अवस्थामा बिपन्न परिवारले ऋण लिएर चाडपर्व मनाउने अवस्था पनि सिर्जना हुन सक्छ। चाडपर्वपछि आर्थिक व्यवस्थापनमा समस्या आउनु यसको नकारात्मक पक्षको रुपमा हेर्न सकिन्छ।
चाडपर्वले खुसी र आत्मीयता दिनुपर्ने हो, तर अनावश्यक खर्च र आर्थिक दबाबका कारण परिवारमा तनाव सिर्जना हुनु यसको मूल भावनाविपरीत हो।
मौलिक संस्कृति हराउँदै जाने चुनौती
नेपाली चाडपर्वको विशेषता विविधता रहेको छ। हाम्रो गाउँघरमा मनाइने परम्परागत देउसी–भैलो, पञ्चेबाजा, सराय नाच, स्थानीय लोकगीत, सामूहिक पूजाआजा, परम्परागत खानपान र आफन्तबीचको भेटघाटले हाम्रो सांस्कृतिक पहिचानलाई जीवन्त बनाउने हो। तर यी परम्परागत कला संस्कृती, रितिरिवाजको सट्टामा हाम्रो समाजमा आयातित र देखासिखी संस्कृती अलि बढी मौलाउदै गएको देखिएको छ ।
यी परम्परा केवल मनोरञ्जनका साधन होइनन्, समुदायको इतिहास, जीवनशैली र सामाजिक सम्बन्धसँग जोडिएका अमूल्य सम्पदा हुन्। तर नयाँ पुस्तामा कतिपय स्थानीय परम्परा, लोकगीत, भाषा, नाच र संस्कारबारे जानकारी घट्दै जानु पनि संरक्षणका दृष्टि र पुस्ता हस्तान्तरणको हिसाबले चुनौती देखिएको छ।
यद्यपि सबै आधुनिक परिवर्तनलाई संस्कृतिमाथिको आक्रमणका रूपमा बुझ्नु उचित हुँदैन। समयअनुसार चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक प्रक्रिया हो। प्रविधिको प्रयोग, नयाँ पुस्ताको सहभागिता र आधुनिक अभ्यासले संस्कृतिलाई थप व्यापक बनाउन पनि सक्छन्। तर परिवर्तनका नाममा मौलिक पहिचान, सामाजिक सद्भाव र परम्पराको ऐतिहासिक महत्व नै ओझेलमा पर्नु हुँदैन।
संस्कृति जोगाउनु भनेको पुराना सबै अभ्यासलाई जस्ताको तस्तै दोहो¥याउनु मात्र होइन, त्यसका सकारात्मक पक्षलाई पहिचान गर्दै समयअनुकूल निरन्तरता दिनु पनि हो।
चाडपर्वको वास्तविक अर्थ : सम्बन्ध, सद्भाव र सहयोग
चाडपर्वको वास्तविक सुन्दरता खर्चको परिमाणमा होइन, त्यसले जोड्ने सम्बन्धमा हुन्छ। लामो समयदेखि भेट नभएका आफन्तबीच भेटघाट हुनु, परिवारका सदस्य एकै ठाउँमा बसेर खुसी साट्नु, मनमुटाव हटाउनु, दुःखमा परेकालाई सहयोग गर्नु र समुदायमा सद्भाव कायम गर्नु नै चाडपर्वको महत्वपूर्ण पक्ष हो।
आर्थिक अवस्था कमजोर भएकै कारण कुनै परिवारले चाडपर्वको खुसीबाट वञ्चित हुनुपर्ने अवस्था आउनु हुँदैन। पर्व मनाउने क्रममा विपन्न, असहाय, ज्येष्ठ नागरिक, एकल महिला तथा समस्यामा परेका परिवारलाई सम्झनु महत्त्वपूर्ण सामाजिक जिम्मेवारी हो ।
त्यसैले हाम्रा समाजमा मनाइने विभिन्न जातजाति धर्म समुदायले मान्ने चाडपर्वलाई व्यक्तिगत प्रदर्शनभन्दा सामूहिक खुसी र मानवीय सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा विकास गर्न पर्ने अहिलेको महत्त्वपूर्ण आवश्यक छ। आफ्नो आर्थिक क्षमताअनुसार खर्च गर्नु, स्थानीय उत्पादन र परम्परागत सीपलाई प्रोत्साहन गर्नु तथा अनावश्यक प्रतिस्पर्धाबाट टाढा रहनु नै सबै भन्दा उत्तम र व्यावहारिक हुन्छ ।
परिवर्तनको नेतृत्व युवा पुस्ताले गर्नुपर्छ
युवा पुस्ता समाज परिवर्तनको महत्वपूर्ण वहाक हो। नयाँ प्रविधि, शिक्षा, सूचना र सिर्जनशीलतासँग जोडिएको युवाशक्तिले चाडपर्वको मौलिकता संरक्षणमा पनि प्रभावकारी भूमिका खेल्न सक्ने विषयलाई भुल्नु कदापि हुँदैन ।
युवाहरूले चाडपर्वलाई आधुनिक बनाउने नाममा आफ्नो रितिरिवाज र मौलिकता भुल्नु हुँदैन। बरु नयाँ प्रविधि र सञ्चार माध्यमको उपयोग गरेर लोपोन्मुख पुरानो कला संस्कृती, लोकगीत, नृत्य, भाषा, भेषभूषा र स्थानीय परम्पराको अभिलेखीकरण तथा प्रचारप्रसार गर्न जोड दिनुपर्छ।
त्यस्तै, महँगा सामग्री र देखासिकीको प्रतिस्पर्धाभन्दा सरल, सभ्य र आर्थिक क्षमताअनुसार पर्व मनाउने संस्कारको सुरुवात गर्नुपर्छ। साथीभाइ र परिवारमा अनावश्यक खर्चको दबाब सिर्जना नगर्ने, सामाजिक सञ्जालमा प्रदर्शनभन्दा सकारात्मक सन्देश प्रवाह गर्ने र चाडपर्वका अवसरमा सामाजिक सेवाका गतिविधिमा सहभागी हुने अभ्यास विकास गर्न सकिन्छ।
विद्यालय, युवा क्लब, स्थानीय तह, सामाजिक संस्था र सांस्कृतिक समूहले पनि नयाँ पुस्तालाई परम्पराको महत्व बुझाउने कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। ज्येष्ठ पुस्तासँग रहेका ज्ञान, अनुभव र सांस्कृतिक अभ्यासलाई युवासँग जोड्ने वातावरण बनाउनु उत्तिकै महत्वपूर्ण छ।
निष्कर्ष : संस्कृति देखाउने होइन, जीवनमा उतार्ने विषय बन्नुपर्छ
चाडपर्व हाम्रो पहिचान हुन्, तर पहिचान महँगा कपडा, भोजभतेर र आर्थिक प्रदर्शनबाट स्थापित हुँदैन। हाम्रो पहिचान आपसी सद्भाव, आत्मीयता, परम्परा, भाषा, संस्कृति र मानवीय व्यवहारबाट स्थापित हुन्छ।
समयसँगै चाडपर्व मनाउने शैली बदलिन सक्छ, तर त्यसको मूल भावना बदलिनु हुँदैन। आधुनिकता स्वीकार गरौँ, तर मौलिकता नबिर्सौं। खुसी भएर मनाऔँ, तर आर्थिक क्षमताभन्दा बाहिर गएर अरूलाई देखाउने प्रतिस्पर्धामा लाग्नु हुँदैन ।
आजको आवश्यकता चाडपर्वमा खर्च घटाउने बहस मात्र होइन, खर्च र संस्कृतिबीचको सही सन्तुलन कायम गर्नु पनि हो। हाम्रा परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने, सामाजिक सम्बन्धलाई बलियो बनाउने र आर्थिक अवस्थाका कारण कसैलाई पनि पर्वको खुसीबाट वञ्चित हुन नदिने संस्कार विकास गर्नुपर्छ।
अन्ततः चाडपर्वको महत्व हामीले कति खर्च ग¥यौँ भन्नेमा होइन, कति सम्बन्ध जोड्यौँ, कति खुसी बाँड्यौँ र आफ्नो संस्कृति भावी पुस्ताका लागि कति सुरक्षित राख्यौँ भन्नेमा निर्भर गर्छ।
त्यसैले आडम्बर होइन, आत्मीयता; देखासिकी होइन, मौलिकता र प्रतिस्पर्धा होइन, सद्भावलाई चाडपर्वको पहिचान बनाउनु आजको हामी सबैको साझा जिम्मेवारी हो।