प्यूठान : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको न्यायिक समितिमा इजलास सञ्चालनमा आएको छ । जिल्ला अदालत दैलेखका जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले शुक्रवार एक कार्यक्रमका बीच इजलासको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै न्यायाधीश पाण्डेले स्थानीय तहमा इजलास सञ्चालन हुनु न्यायिक सेवाको विकेन्द्रीकरण तथा नागरिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने महत्वपूर्ण पहल भएको बताए। उनले स्थानीय स्तरमै विवाद समाधानको प्रक्रिया प्रभावकारी बन्दै जाँदा न्यायमा नागरिकको पहुँच थप सहज हुने विश्वास व्यक्त गरे ।
नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक मनसरा शर्माले इजलास सञ्चालनसँगै सेवाग्राहीले सामान्य विवाद तथा न्यायिक प्रक्रियाका लागि जिल्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यता कम हुने बताईन् । स्थानीय स्तरमै न्यायिक सेवा उपलब्ध हुँदा समय, श्रम र आर्थिक खर्चको बचत हुनुका साथै साना तथा स्थानीय प्रकृतिका विवादको छिटोछरितो समाधानमा समेत टेवा पुग्ने उनको भनाई थियो ।
स्थानीय तहमै इजलास सञ्चालनको सुरुवातसँगै नागरिक र न्याय प्रणालीबीचको दूरी घट्ने तथा न्यायप्रतिको जनविश्वास थप मजबुत बन्ने अपेक्षा गरिएको छ ।