काठमाण्डौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि रूपा विकले उम्मेदवारी दिने तयारी गरेकी छन् । १४औँ महाधिवेशनमा ३४ वर्षको उमेरमै दलित महिलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुँदै कांग्रेसको केन्द्रीय समितिकी कान्छी सदस्य बनेकी विक यसपटक पनि केन्द्रीय नेतृत्वमा निरन्तरताको तयारी गरेकी हुन ।
पाल्पामा जन्मिएकी विक नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय नेतृ हुन् । १५औँ महाधिवेशनअन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर ३ बाट उनी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा सर्वसम्मत चयन भइसकेकी छन् । यससँगै १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उनको उम्मेदवारी दिने तयारी गरेकी छ्न ।
विकको राजनीतिक यात्रा भने १५औँ महाधिवेशनको उम्मेदवारीबाट सुरु भएको होइन । उनी कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भइसकेकी थिइन् । त्यसपछि पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै १४औँ महाधिवेशनमा दलित महिलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुन सफल भइन् ।
३४ वर्षको उमेरमै केन्द्रीय सदस्य निर्वाचित भएपछि उनी कांग्रेसको केन्द्रीय समितिकी कान्छी केन्द्रीय सदस्य बनेकी थिइन् । कम उमेरमै पार्टीको केन्द्रीय तहमा पुगेकी विकको राजनीतिक यात्रामा त्यसपछि नयाँ जिम्मेवारीहरू थपिँदै गए ।
पाल्पाबाट राजनीतिक यात्रा सुरु
पाल्पामा जन्मिएकी विकले आफ्नो राजनीतिक सक्रियता पनि त्यहीँबाट अघि बढाएकी हुन् । नेपाल विद्यार्थी संघलगायत कांग्रेसका विभिन्न संगठनात्मक गतिविधिमा सक्रिय हुँदै उनी पार्टीको मूलधारको राजनीतिमा स्थापित हुँदै गइन् ।
२०५९ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेको सार्वजनिक विवरण पाइन्छ । संगठन निर्माण, पार्टी गतिविधि तथा सामाजिक सरोकारका विषयमा निरन्तर सक्रिय रहँदै उनी पार्टीको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै अगाडि बढिन् ।
पाल्पाबाट दुई पटक महाधिवेशन तथा महासमिति सदस्य बनेकी विकले आफ्नो राजनीतिक आधारलाई पछिल्लो समय कपिलवस्तुसम्म विस्तार गरेकी छन् । अहिले उनी कपिलवस्तुबाट महासमिति सदस्यका रूपमा सक्रिय छिन् । १५औँ महाधिवेशनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा सर्वसम्मत चयन हुनु उनको पछिल्लो संगठनात्मक यात्राको महत्वपूर्ण कडी बनेको छ ।
राजनीतिसँगै अध्ययनमा पनि निरन्तरता
विकको परिचय राजनीतिक भूमिकामा मात्र सीमित छैन । उनले राजनीतिसँगै आफ्नो शैक्षिक यात्रालाई पनि निरन्तरता दिएकी छन् ।
उनले पाल्पाको तानसेन बहुमुखी क्याम्पसबाट स्नातक तथा त्रिभुवन विश्वविद्यालयबाट अग्रेजी विषयमा स्नातकोत्तर गरेकी छन् । अहिले उनी नेपालका दलित तथा सीमान्तकृत समुदायमा जलवायु परिवर्तनको प्रभाव विषयमा विद्यावारिधि गरिरहेकी छन् ।
जलवायु परिवर्तनले नेपालका दलित तथा सीमान्तकृत समुदायमा पार्ने प्रभावलाई केन्द्रमा राखेर अध्ययन गरिरहेकी विकको शैक्षिक अनुसन्धान र उनको राजनीतिक पृष्ठभूमिबीच पनि विषयगत सम्बन्ध देखिन्छ । सामाजिक समावेशिता, दलित समुदाय, महिला तथा सीमान्तकृत वर्गका सवाल उनका सार्वजनिक चासोका विषय रहँदै आएका छन् ।
संसददेखि सरकारसम्म
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि विक नेपाली कांग्रेसको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनिन् । संसदमा पुगेपछि उनले युवा, महिला, दलित समुदाय, शिक्षा, रोजगारी तथा सामाजिक न्यायसँग सम्बन्धित विषयमा आफ्नो धारणा राख्दै आएकी छन् ।
संसदीय भूमिकासँगै उनको राजनीतिक जिम्मेवारी सरकारसम्म विस्तार भयो । केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएकी थिइन् ।
राज्यमन्त्रीका रूपमा उनले वन, वातावरण, जैविक विविधता, जलवायु परिवर्तन तथा वन्यजन्तु संरक्षणसँग सम्बन्धित मन्त्रालयगत जिम्मेवारी सम्हालिन् । वन तथा वातावरणसँग सम्बन्धित विषयमा सार्वजनिक कार्यक्रम तथा संसदीय छलफलमा समेत उनको सहभागिता रह्यो ।
विशेषगरी अहिले उनी जलवायु परिवर्तन र सीमान्तकृत समुदायमाथि पर्ने प्रभावबारे विद्यावारिधि गरिरहेकाले वातावरणीय विषयसँग उनको राजनीतिक तथा शैक्षिक चासोसमेत जोडिएको देखिन्छ ।
युवा पुस्ता र समावेशी प्रतिनिधित्वको सवाल
कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्दा नै विकको पहिचान युवा तथा दलित महिला प्रतिनिधित्वसँग जोडिएको थियो । ३४ वर्षको उमेरमा दलित महिलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुँदै उनले पार्टीको केन्द्रीय संरचनामा युवा पुस्ताको प्रतिनिधित्व गरेकी थिइन् ।
प्रतिनिधिसभा सदस्य तथा राज्यमन्त्रीका रूपमा समेत काम गरिसकेकी विकले पार्टी संगठनसँगै राज्यका विभिन्न तहमा काम गर्ने अनुभव हासिल गरेकी छन् । अहिले उनको राजनीतिक यात्रामा पार्टी संगठन, संसद, सरकार र शैक्षिक अनुसन्धान—यी चारवटै क्षेत्रका अनुभव जोडिएका छन् ।
१५औँ महाधिवेशनमा पुनः केन्द्रीय सदस्यको तयारी
अब कांग्रेसको १५औँ महाधिवेशन विकको राजनीतिक यात्राको अर्को महत्वपूर्ण चरण बन्नेछ । १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी उनी यसपटक पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छिन् ।
१२औँ महाधिवेशनदेखि पार्टीको महाधिवेशन प्रक्रियामा निरन्तर सहभागी हुँदै आएकी विकले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको जिम्मेवारी पाइन् । त्यसपछि प्रतिनिधिसभा सदस्य र वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिन् । अहिले १५औँ महाधिवेशनमा पुनः केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारीसँगै उनको राजनीतिक यात्राले अर्को चरण लिन लागेको छ ।
पाल्पाबाट सुरु भएको राजनीतिक यात्रा, दुई पटकको महाधिवेशन तथा महासमिति सदस्यको अनुभव, ३४ वर्षमै दलित महिलातर्फबाट कांग्रेसको कान्छी केन्द्रीय सदस्य बनेको इतिहास, प्रतिनिधिसभा सदस्य तथा राज्यमन्त्रीको जिम्मेवारी र अहिले जलवायु परिवर्तन तथा दलित एवं सीमान्तकृत समुदायमाथिको प्रभावबारे भइरहेको विद्यावारिधि अध्ययन—यी सबै अनुभव लिएर विक १५औँ महाधिवेशनको मैदानमा उत्रिने तयारीमा छिन् ।