प्यूठान : भारतको मुम्बईमा हुने तेस्रो विश्व मेयर सम्मेलनमा सहभागी हुन झिमरुक गाउँपालिका प्यूठानका उपाध्यक्ष प्रमोद पोख्रेल भारतको मुम्बई शहर प्रस्थान गरेका छन् । भारत र विश्वका विभिन्न सहरबाट ५ सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता हुने उक्त सम्मेलनमा नगरप्रमुखहरू, सहरका नेतृत्वकर्ताहरू, नीतिनिर्माताहरू, विद्वानहरू, सहरी विकासका अभ्यासकर्ताहरू, नेपालका गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुखहरु र विकास साझेदारहरूको सहभागिता हुनेछ ।
गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य समेत रहेका प्रमोद पोख्रेल सहित नेपालबाट आठ जनाको सहभागीता रहने जनाइएको छ । लुम्विनी प्रदेशबाट पोख्रेल र बगनाशकाली गाउँपालिका पाल्पाकी अध्यक्ष सरस्वती चिदी सहभागी हुँदैछन् ।
सम्मेलनका विभिन्न सत्रहरूमा स्थानीय शासन, सहरी आवागमन, कृत्रिम बौद्धिकता, सहरी वित्त व्यवस्थापन, चक्रीय अर्थतन्त्र, जलवायु परिवर्तनसम्बन्धी कार्य, फोहोरमैला तथा पानी व्यवस्थापन र सहरहरूबीचको सहकार्यलगायतका विषयमा छलफल हुनेछ ।
सम्मेलनले आफ्ना अनुभवहरू आदानप्रदान गर्ने, अन्य देशका समकक्षीहरूबाट नयाँ ज्ञान तथा अनुभव हासिल गर्ने र विश्वका विभिन्न सहरहरूसँग आपसी सम्बन्ध तथा साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसरसमेत प्रदान गर्ने विश्वास लिइएको उपाध्यक्ष पोख्रेलले बताएका छन् । अखिल भारतीय स्थानीय स्वशासन संस्थानले सम्मेलनको आयोजना गरेको हो ।