गुल्मी : गुल्मीमा बदेल धपाउनका लागि बारीमा राखेको विजुलीको करेन्टमा परेर एक महिलाको मृत्यु भएको छ । मदाने गाउँपालिका–१ ओख्लेदहमा सोही गाउँपालिका वडा नम्वर ४ स्थित बावनपानीकी ४८ वर्षिय डाल कुमारी खत्रीको मृत्यु भएको हो ।
स्थानीय ठूलाचौर निवासी ३० वर्षिय सन्तोष विष्टले बदेल धपाउन कोदो बारीको खुल्ला तारमा करेन्ट छाडेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिए । स्थानीयका अनुसार विष्टले गाउँमा विद्युत्तको मिटर रिडिङ गर्ने काम गर्दै आएका छन् । मृतक खत्री केही दिनदेखि घरपरिवारको सम्पर्कमा थिइनन् । करेन्टमा परेर मृत्यु भइसकेपछि मात्र परिवारले उनको अवस्था थाहाँ पाएका हुन् ।
हप्ता दिन वित्न लागिसक्दा समेत फेला नपारेपछि मृतकका श्रीमान् पिम बहादुर खत्रीले खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय पुर्कोटदहमा निवेदन दिएका थिए । कोदो बारीको नांगो तारमा करेन्ट छाड्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय पुर्कोटदहका इन्चार्ज एवं प्रहरी निरीक्षक त्रिभुवन जिसीको टोली घटनास्थलमा पुगेको थियो ।