बुटवल : प्राचीन चीनका प्रसिद्ध बौद्ध भिक्षु तथा यात्री फा–सियानको यात्रा वृत्तान्त ‘बौद्ध राज्यहरूको अभिलेख’ माथि शनिबार बुटवलमा समीक्षा गरिएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रकाशन गरेको उक्त ग्रन्थको नेपाली अनुवाद डा. सागर न्यौपाने र चुरामणि पोखरेल (लक्ष्मण) ले गरेका हुन्।
बुटवलको सुख्खानगरमा आयोजित समीक्षा कार्यक्रममा प्रगतिवादी सौन्दर्यशास्त्री प्राध्यापक ऋषिराम भुसाल, डा. मुरारी पराजुली र युवा विश्लेषक रामचन्द्र श्रेष्ठले पुस्तकको भाव, संरचना र शैलीमाथि चर्चा गरेका थिए। समीक्षकहरूले प्राचीन बौद्ध साहित्यको महत्वपूर्ण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरेर ऐतिहासिक तथा बौद्ध साहित्यको क्षेत्रमा योगदान पु¥याएको भन्दै अनुवादकद्वयको प्रशंसा गरेका थिए । उनीहरूले यस प्रकारका अनुसन्धानमूलक कृतिको प्रकाशनलाई निरन्तरता दिनसमेत सुझाव दिएका थिए।

फा–सियानले चौथो शताब्दीको अन्त्यतिर बौद्ध धर्मका विनयपिटकसम्बन्धी ग्रन्थ सङ्कलन गर्न, बौद्ध तीर्थस्थलको दर्शन गर्न र बौद्ध शिक्षाको अध्ययन गर्न लामो यात्रा गरेका थिए। सन् ३९९ मा सुरु भएको उनको यात्रा करिब १४ वर्षपछि सन् ४१३ मा चीन फर्किएसँगै पूरा भएको थियो। उनले तत्कालीन चीनबाट मध्य एसिया हुँदै भारतीय उपमहाद्वीप र श्रीलङ्कासम्म यात्रा गरेका थिए। उनको यात्रा वृत्तान्त प्राचीन एसियाको धार्मिक, सांस्कृतिक तथा सामाजिक इतिहास अध्ययनका लागि महत्वपूर्ण स्रोत मानिन्छ ।
‘बौद्ध राज्यहरूको अभिलेख’ केवल एक यात्रीको यात्रा विवरण मात्र नभई तत्कालीन बौद्ध राज्यहरूको धार्मिक तथा सांस्कृतिक परम्परा, बौद्ध तीर्थस्थल, सामाजिक अवस्था र प्राचीन मार्गहरूबारे जानकारी दिने ऐतिहासिक दस्ताबेज हो। यसले नेपाललगायत दक्षिण एसियाका विभिन्न क्षेत्रको प्राचीन बौद्ध सभ्यता र इतिहास बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्छ।
विशेषगरी लुम्बिनी, कपिलवस्तुको तिलौराकोट तथा रामग्रामजस्ता बौद्धस्थलको ऐतिहासिक अध्ययन र पहिचानका सन्दर्भमा प्राचीन यात्रावृत्तान्तहरूको महत्त्व रहेको कार्यक्रममा चर्चा गरिएको थियो। यस्ता ग्रन्थको अध्ययन र अनुवादले नेपालको बौद्ध सम्पदा तथा प्राचीन सभ्यताबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा जानकारी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाली भाषामा यस ग्रन्थको अनुवादलाई बौद्ध साहित्य र दर्शनको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। समीक्षकहरूले अनुवादकद्वयलाई बौद्ध साहित्यमा पु¥याएको योगदानका लागि बधाई दिँदै आगामी दिनमा थप अनुसन्धानमूलक तथा संस्मरणात्मक कृति प्रकाशन गर्न सुझाव दिएका थिए।
डा. सागर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चुरामणि पोखरेल (लक्ष्मण) ले गरेका थिए। कार्यक्रममा दुई दर्जनभन्दा बढी विद्वान्, साहित्यकार तथा अध्येताको सहभागिता रहेको थियो।