प्यूठान : भारतको नयाँ गुडगाउँमा दुर्घटनामा परेर अकालमै ज्यान गुमाएका झिमरुक गाउँपालिका–४ कुन्टेपानी प्यूठानका बावुराम रोकाका घरका परिवारलाई युवा नेता प्रमोद पोख्रेलले सहयोग गरेका छन् । झिमरुक गाउँपालिकाका उपाध्यक्ष समेत रहेका पोख्रेलले पीडितको घरमै पुगेर मंगलवार १३ औं दिनका लागि प्रयोग हुने खाद्यान्न सहयोग गरेका हुन् । उनले १० बोरा चामल, १ बोरा आलु, ५ लिटर तेल र ५ केजी नुन घरमै पुगेर सहयोग गरेका छन् ।
पोख्रेलले विचल्लीमा परेका ढाई वर्षिय छोराको भविष्यका लागि आर्थिक सहयोग संकलन अभियान समेत चलाएका छन् । देश विदेशबाट सहयोग गर्ने क्रम जारी रहेको पोख्रेलले बताए । झिमरुक गाउँपालिकाबासी लगायत जिल्लाका विभिन्न क्षेत्रमा रहेका दुःखी पीडितहरुको सहयोगका लागि पोख्रेलले विभिन्न समयमा सहयोग संकलन अभियान चलाउने गरेका छन् । धेरै ठाउँमा उनले आफ्नै व्यक्तिगत सहयोगमा समेत खाद्यान्न सहयोग गरिरहेका छन् ।
३२ वर्षिय बावुराम १४ वर्षदेखि निरन्तर भारत आउजाउ गर्दै आएका थिए । घरको एउटा मात्र कमाई गर्ने छोराको मृत्युपछि परिवारको विचल्ली भएको छ ।