प्यूठान : प्यूठान नगरपालिका –८ स्थित बृहत महिला साना किसान कृषि सहकारी संस्थाको दशौँ साधारण सभाको उद्घाटन प्यूठान नगरपालिकाका नगरउपप्रमुख देवेन्द्र वर्माले गरेका छन् । सो अवसरमा उनले नगरपालिकाको कृषि क्षेत्रसम्बन्धी रिपोर्ट कार्ड सार्वजनिक गर्दै हालसम्मका उपलब्धिहरू प्रस्तुत गरे ।
साढे तीन वर्षे कार्यकालमा कृषकलाई प्राथमिकतामा राखेर दुधमा प्रति लिटर रु. १०, तरकारीमा पाँच रुपैयाँ नगद थप अनुदान दिँदै आएको बताए । ‘प्यूठान नगरपालिकामा दैनिक ५ सय लिटर दूध बाहिरबाट आउने गरेको छ’, बर्माले भने, ‘दूध उत्पादनमा अनुदान दिँदा पशुपालन तर्फ आकर्षण पनि बढ्ने र उत्पादनमा वृद्धि गर्दै निकट भविष्यमै दूधमा आत्मनिर्भर तर्फ अघि बढ्ने अठोट लिएका छौं ।’ गतवर्ष ११ लाख रुपैयाँ दूध उत्पादन अनुदानमा उपलब्ध गराएको उनले सुनाए । अनुदानको रकम नगरपालिकाले सूचीकृत गरेका सहकारी मार्फत किसानको खातामा सिधै जाने व्यवस्था मिलाईएको छ ।
प्यूठान नगरपालिकाले किसान पेन्सन कार्यक्रम, बेसार उद्योग प्रवद्र्धन तथा महिला सहकारीलाई विशेष प्रोत्साहनजस्ता कार्यक्रम सञ्चालन गरिरहेको उपमेयर वर्माले जानकारी गराए ।
नगरपालिकाको किसान पेन्सन कार्यक्रममा ६३ जना किसान जोडिएका छन् । किसानलाई पेन्सन वापत महिनाको १ हजार नगरपालिकाले जम्मा गरिदिने उनले बताए । ‘किसान पेन्सनको कार्यविधि बनाएका छौं’, वर्माले भने, ‘कम्तिमा ८० जना किसानलाई जोड्ने लक्ष्य लिएका छौं ।’
नगरपालिका भित्र उत्पादन हुने हलेतोलाई प्रति केजी ३५ रुपैयाँमा नगरपालिकाले खरिद गरिदिने भएको छ । यस वर्ष कम्तिमा १ सय क्विन्टल हलेतो खरिद गर्ने लक्ष्य राखिएको छ । बाँदर आतंकले खेतीयोग्य जमिन बाँझो हुन नदिनका लागि हलेतो उत्पादन कार्यक्रमलाई विशेष प्राथमिकताका साथ नगरपालिकाले अघि बढाएको उनले सुनाए ।
७ सय ३६ कृषक सदस्य रहेको उक्त सहकारीको शौचालय निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था प्यूठान नगरपालिकाले गरिदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । नगरपालिकाका यी पहलहरूले कृषकको आय वृद्धि, महिला सशक्तिकरण तथा सहकारी प्रणालीलाई थप मजबुत बनाउन सहयोग पुगेको सहकारीकी अध्यक्ष रेखा बस्यालले बताईन् ।
साधारण सभामा नगर प्रवक्ता सुमनराज श्रेष्ठ, वडा अध्यक्ष पदम बहादुर थापा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमानसिंह गिरी लगायतको उपस्थिति रहेको थियो ।