प्यूठान : प्यूठानमा केही वर्ष अघिसम्म सीमित क्षेत्रफलमा हुने चैते धान खेती अहिले तीव्र रूपमा विस्तार हुँदै गएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्यूठानका अनुसार २०७८ सालमा करिब ४ सय रोपनी क्षेत्रफलबाट सुरु गरिएको चैते धान खेती अहिले जिल्लाभर ४ हजार ७ सय रोपनीमा क्षेत्र विस्तार भएको छ। विशेषगरी आर्थिक वर्ष २०८१÷०८२ देखि यसको विस्तारले तीव्रता पाएको कार्यालयले जनाएको छ।
यस वर्ष जिल्लाबाट करिब १ हजार २ सय मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ। गत वर्ष जिल्लामा १ हजार ४८ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाको कुल क्षेत्रफलमध्ये सबैभन्दा बढी झण्डै ३ हजार ९ सय रोपनीमा चैते धान खेती ऐरावती गाउँपालिकामा गरिएको छ। त्यसपछि स्वर्गद्वारी नगरपालिकामा करिब ५ सय रोपनी, सरुमारानी गाउँपालिकामा २ सय रोपनी तथा प्युठान नगरपालिकामा करिब ७०–८० रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको छ। यससँगै ऐरावती जिल्लाकै प्रमुख चैते धान पकेट क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ।
ऐरावती गाउँपालिकाको दाङबाङ, गोठीबाङ, सरङबेसी, वंशआरी, जुडा र वाङरी चैते धानका मुख्य उत्पादन क्षेत्र हुन्। यहाँ किसानसँगको साझेदारीमा परियोजनाले सिँचाइ पूर्वाधार विस्तार, धान रोप्ने मेसिन, थ्रेसर, धान प्रशोधन मिल तथा वर्षायाममा आवश्यक त्रिपाल उपलब्ध गराउँदै आएको छ।
४ सय रोपनीबाट सुरु भएको खेती ४ हजार ७ सय रोपनीमा विस्तार, यस वर्ष १ हजार २ सय मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान
कार्यक्रम इकाइका प्रमुख चुमान गिरीका अनुसार हाल जिल्लामा मुख्य रूपमा हर्दीनाथ–१ र हर्दीनाथ–३ जातका चैते धान खेती भईरहेको छ। चैत्र १५–२० गतेदेखि रोपाइँ सुरु हुने यो धान करिब चार महिनामै उत्पादन हुने भएकाले अधिकांश क्षेत्रमा असार मसान्तभित्रै कटानी सकिन्छ भने स्वर्गद्वारीलगायत केही स्थानमा साउनको पहिलो सातासम्म धान भित्र्याइन्छ।
‘हामी ऐरावतीमा थप क्षेत्र विस्तार गर्दैछौँ। अझै खेती हुन बाँकी रहेका फाँटहरूमा आगामी वर्ष चैते धान विस्तार गर्ने योजना छ,’ गिरीले भने। उनका अनुसार वर्षमा करिब तीन महिना खाली रहने जमिनमा चैते धान उत्पादन गरि त्यसपछि बर्खे धान खेतीसमेत गर्न सकिने भएकाले किसानको आम्दानी बढाउन यो खेती प्रभावकारी बनेको छ।
सिँचाइ सुविधा सीमित भएका क्षेत्रमा भने वैकल्पिक बाली प्रवद्र्धन गरिएको छ। स्वर्गद्वारीमा चैते धानपछि पर्याप्त सिँचाइ नहुने भएकाले किसानलाई कोसेबाली खेतीतर्फ प्रोत्साहित गरिएको गिरीले बताए। ऐरावती–१ का अगुवा किसान द्रोण पाण्डेका अनुसार एक रोपनीबाट औसत साढे ६ मुरीसम्म चैते धान उत्पादन भइरहेको छ। उनी समूहमार्फत करिब १ हजार रोपनी क्षेत्रमा चैते धान विस्तार अभियानमा सक्रिय छन्। स्थानीय सहकारीका अध्यक्षसमेत रहेका पाण्डेलाई परियोजनाले चैते धान विस्तारका अभियन्ताका रूपमा लिएको छ।
यस वर्ष सरुमारानी गाउँपालिकाको वडा नं. ४ बुढीखोला र वडा नं. ५ अन्तर्गत दाङ सीमावर्ती पुठाखोलामा समेत करिब २ सय रोपनी क्षेत्रमा चैते धान खेती विस्तार गरिएको छ। यता, बार्हैमास सिँचाइ सुविधा रहेको झिमरुक फाँट, जसलाई प्युठानको अन्नभण्डारका रूपमा चिनिन्छ, त्यहाँ भने चैते धान खेतीले अपेक्षित गति लिन सकेको छैन। अहिले यहाँ करिब ७०–८० रोपनी क्षेत्रमा मात्रै चैते धान खेती गरिएको छ।
’जमिन हुनेसँग खेती गर्ने जागर कम छ, जागर हुनेसँग पर्याप्त जमिन छैन,’ गिरीले भने, ’धेरै प्रयास गर्दा पनि झिमरुक फाँटमा चैते धान विस्तार गर्न सकिएको छैन।’ बर्खे धान खेतीसमेत घट्दो क्रममा छ। श्रमिक अभाव पनि यसको प्रमुख कारणमध्ये एक हुनसक्ने उनको बुझाई छ। परियोजनाका अनुसार सिँचाइ सुविधा, यान्त्रिकीकरण र किसानको सक्रिय सहभागिता अझ बढाउन सके प्यूठानमा चैते धान खेतीको क्षेत्रफल र उत्पादन दुवै आगामी वर्षहरूमा थप वृद्धि हुने अपेक्षा गरिएको छ।