प्यूठान : प्यूठानमा गगन थापा नेतृत्वको नेपाली कांग्रेसका वडा र पालिकास्तरका अधिवेशनहरु सम्पन्न भए । जिल्ला नेतृत्वको लागि तोकिएको अधिवेशन प्रतिकुल मौसमका कारण सरेको छ । वडा र पालिकाबाट आएका क्षेत्रिय प्रतिनिधीहरुले जिल्ला अधिवेशनमा आफूले चाहेको नेतृत्व छान्ने समय बाँकै नै छ ।
तर, वर्तमान जिल्ला सभापती विष्णु कुमार गिरीले शुक्रवार एउटा प्रेस विज्ञप्ती सार्वजनिक गरेर भने,‘प्रतिकुल मौसमका कारण अधिवेशन सरको छ । अव हुने जिल्ला अधिवेशनबाट पार्टीका नेता शिवराज रिजालले नयाँ नेतृत्वको बागडोर सम्हाल्नुहुनेछ ।’ उनको विज्ञप्तीले प्रष्टै भन्छ, अवको जिल्ला सभापती शिवराज रिजाल हुनेछन् ।
गिरीले भावी पार्टी सभापती बनाउने कुरा आफ्नो व्यक्तिगत विचारमा मात्र सिमित राखेका छैनन् । सयौं मतदाताहरुको अधिकारलाई कुण्ठित गरेर पार्टीको संस्थागत लेटर प्याडमै भावी सभापती घोषणा गर्दा गिरीले सिंगो पार्टीको निर्वाचन प्रक्रियालाई नै बेवास्ता गरेको नेता, कार्यकर्ताहरुले टिप्पणी गरेका छन् ।
आफूलाई लोकतन्त्रको हिमायती ठान्ने तर निर्णय प्रक्रियामा राणा शासनको झल्को दिने वर्तमान जिल्ला पार्टी सभापती गिरीको कार्यशैलीप्रति धेरैले आलोचना गरेका छन् । गिरी गौमुखी गाउँपालिका प्यूठानका दोस्रो कार्यकालका अध्यक्ष समेत हुन् । पूर्व जिल्ला सचिव समेत रहेका शिवराज रिजाल उनै गिरीसँग यसअघिको निर्वाचनमा पराजित भएका थिए ।
लोकतान्त्रिक पार्टीमा एउटा पार्टी सभापतीले नयाँ पार्टी सभापती एकल रुपमा तोक्दा कुनै बेलाका राजा, महाराजाहरुले आफ्नो छोरालाई उत्तराधिकारी तोकेजस्तो झल्को देखिएको नेपाली कांग्रेसका नेता एवं लुम्विनी प्रदेशका पूर्वमन्त्री सरोज थापा (रोज)ले टिप्पणी गरे । ‘क्षेत्रिय प्रतिनिधीहरुको अधिकारलाई कुण्ठित गरेको देखियो । उनीहरुको अधिकारलाई बन्धक राखियो’,उनले भने,‘लोकतन्त्रमा यस्तो शैली कत्तिपनि सुहाउने विषय होइन् ।’
जिल्ला अधिवेशनमा जिल्ला सभापतीका लागि नौवहिनी गाउँपालिकाका यामलाल पुनमगरले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।