काठमाडौं : गोरखाको बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिएको र पछि खुलेपछि लेदोसहितको आकस्मिक बाढी आएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदी पहिरोका कारण थुनिएको र थुनिएको भाग खुलेपछि लेदोसहितको बाढी आएको हो । श्री नम्बर ३ बाहिनी अड्डालाई आज बिहान ५:५५ बजे बुढीगण्डकी नदी थुनिएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो ।
त्यसपछि गोरखा जिल्लामा तैनाथ रुद्रध्वज गण, सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट सवा ६ बजे रेकी टोली खटिएको थियो । सोही टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम भन्ने स्थानमा सुक्खा पहिरो गएको एकिन गरेको थियो ।
नेपाली सेनाको यही रिपोर्टिङको आधारमा हालसम्म सोही सुक्खा पहिरोका कारण बहाव बन्द भएको र पछि खुलेर बाढी आएको प्रारम्भिक अनुमान गरिएको हो । माथिल्लो भेगको एक हवाई फोटोमा पनि गहिरो र साँघुरो खोँचमा गेग्रान बगेको देखिन्छ । त्यो खोँचको छेउँबाट पहिरो खसेको जस्तो पनि देखिन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती गत भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढी र अहिलेको बूढीगण्डकी बाढीको प्रकृति हेर्दा उस्तै खालको देखिएको बताउँछन् । तर बाढीको उद्गम भने अझै अस्पष्ट छ ।
भिडियो फुटेजहरुमा बूढीगण्डकीमा लेदो माटो र गेग्रानसहितको कालो बाढी आएको देखिन्छ । बूढीगण्डकीमा बाढीको एकिन कारण पत्ता लगाउने प्रयास भइरहेको उनले बताए । ‘हाम्रो टोली ड्रोनसहित बूढीगण्डकीको माथिल्लो क्षेत्रमा परिचालित भएको छ,’ डा. उप्रेतीले भने, ‘केहीबेरमा बाढीको वास्तविक कारण पत्ता लाग्छ ।’
रसुवा–भोटेकोशीमा तिब्बत क्षेत्रमा हिमनदीको ठूलो भाग खसेर बाढी आएको थियो । त्यस बाढीबाट ठूलो मानवीय क्षति भए पनि बूढीगण्डकी बाढीबाट हालसम्म मानवीय क्षतिको खबर आएको छैन । तर भौतिक क्षति भने भएको छ ।
बाढीबाट गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल र धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुंगे पुल बगेका छन् । गोरखा–आरुघाट हुँदै धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भागसमेत बगेको छ ।
बाढीले गोरखाको धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको पावर हाउस र आसपासका ८ देखि १० वटा घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
बाढीले गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भागसहित दुईवटा झोलुंगे पुल पनि बगाएको छ । बाढीबाट एउटा कच्ची घर बगेको, आठवटा घर र आठवटा टहरामा बाढी पसेको तथा २२ वटा घर जोखिममा रहेको विवरण प्राप्त भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत चुमनुब्री–३ को जगतबाट ६ जनाको सकुशल उद्धार गरिएको छ ।