बुटवल : बैंकर तथा जोखिम व्यवस्थापन विज्ञ डा. सहदेव बस्नेतद्वारा लिखित ‘सहकारी अबको बाटो’ पुस्तक सार्वजनिक भएको छ । काठमाडौंस्थित राष्ट्रिय प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सामूहिक रूपमा पुस्तक विमोचन गरिएको हो । सहकारी तथा बैंकिङ क्षेत्रका नेपालका अगुवाहरुलाई भेला गराएर पुस्तक विमोचन गरिएको लेखक बस्नेतले बताए ।
शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलको सभाध्यक्षतामा आयोजित कार्यक्रममा सांसद, सहकारी विज्ञ, बैंकर, कानुनविद्, विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा नियामक निकायका प्रतिनिधिसहित करिब २५० विमोचन कार्यक्रममा सहभागी थियो ।
-1795920685.jpeg)
कार्यक्रममा प्यूठानका प्रतिनिधिसभा सदस्य सुशान्त वैदिक, राष्ट्रियसभा सदस्य उर्मिला अर्याल, सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिका सभापति एवं निवर्तमान प्यूठानका संघीय सांसद् सूर्य थापा, प्रदेशसभा सदस्य निमा गिरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यलगायत सहभागी थिए ।
त्यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. भीष्मराज ढुंगाना, राष्ट्रिय सहकारी बैंकका सञ्चालक परितोष पौडेल, नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत बैंकिङ तथा सहकारी क्षेत्रका विज्ञहरूको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले सहकारी क्षेत्र सुधारको विकल्प नरहेको उल्लेख गर्दै यस क्षेत्रलाई पुनः विश्वासयोग्य बनाउन सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए। उनीहरूले सहकारी सुधारका लागि पुस्तक कोसेढुंगा बन्न सक्ने अपेक्षासमेत व्यक्त गरे ।
लेखक बस्नेतले सहकारी क्षेत्रका विद्यमान समस्या, चुनौती, सम्भावना र सुधारका आवश्यकतालाई उजागर गर्दै आगामी दिनको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने उद्देश्यले पुस्तक लेखिएको बताए । सहकारी आन्दोलनलाई पुनः विश्वास, सुशासन, पारदर्शिता र जवाफदेहिताको बाटोमा अघि बढाउनु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ छ ।
-1795920685.jpeg)
बैंक तथा वित्तीय क्षेत्रमा लामो समय काम गरेको अनुभव, वित्तीय कानुन तथा जोखिम व्यवस्थापनसम्बन्धी अध्ययनका आधारमा सहकारी क्षेत्रको सुधारमा योगदान पु¥याउने उद्देश्यले पुस्तक तयार गरेको बस्नेतले बताए । सहकारी क्षेत्रमा देखिएको संकट र बचतकर्ताको गुम्दै गएको विश्वास पुनःस्थापित गर्न आवश्यक सुधारका विषयमा बहस सुरु गर्नु पुस्तकको प्रमुख उद्देश्य रहेको उनले उल्लेख गरे ।
डा. बस्नेतको यसअघि सहकारी ज्ञान संसार पुस्तक प्रकाशन भइसकेको छ । उक्त पुस्तकले सहकारी क्षेत्रका समस्या र नीतिगत सुधारलाई प्राथमिकता दिएको थियो । ‘सहकारी अबको बाटो’ ले वर्तमान चुनौतीको विश्लेषण गर्दै सहकारी आन्दोलनलाई आगामी दिनमा कुन दिशामा अगाडि बढाउनुपर्छ भन्ने मार्गदर्शन गरेको छ ।
यस पुस्तकमा आठ मुख्य विषयहरु समेटिएका छन् । सहकारीका आधारभूत ज्ञान, सहकारी एकीकरण तथा प्राप्ती, वित्तीय साक्षरता, आत्मसम्मान पुनस्र्थापना मोडेलसहित ऋण असुली प्रक्रिया, ऋण असुली न्यायाधिकरण प्रक्रिया, सहकारी कालोसूची प्रक्रिया, सहकारीमा सम्पत्ति शुद्धीकरण र सहकारीमा जोखिम व्यवस्थापन जस्ता विषयहरु पुस्तकमा समेटिएको छ ।
यी विषयमार्फत सहकारी क्षेत्रका विद्यमान समस्याको पहिचान गर्दै समाधानका लागि व्यावहारिक ज्ञान, विधि र मार्गदर्शन समेत प्रस्तुत गरिएको छ ।