प्यूठान : गुल्मीको मदाने गाउँपालिकाका स्थानीय तथा ‘सोसल इन्फ्लुएन्सर’ कमल यात्रीले गौमुखी गाउँपालिका प्यूठानका नागरिकले भोगिरहेका आधारभूत समस्याबारे आवाज उठाउँदै संघीय सांसद सुशान्त वैदिकको जवाफदेहितामाथि प्रश्न उठाएका छन् । उनले सांसद् वैदिकलाई आफन्तको घरमा प्यूठान पुगेको बेला जनताका गुनासा सुनाउन खोज्दा वेवासता गरेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुक, टिकटक र युट्युव मार्फत उनले सांसद् वैदिकको खरो आलोचना समेत गरेका छन् ।
वैदिक चुनाव जितेर प्यूठानका नागरिकप्रति गैर जिम्मेवार बनेको समेत उनले सामाजिक सञ्जालमा आक्रोश जनाएका छन् । गौमुखी गाउँपालिका वडा नं. ३, ४ र ५ अन्तर्गतका सालीबिसौना, ठुलाबेसी, गाउँफाँटा, म्यालपोखरी, ठोक्रेसा, लिबासे, सिरुङखोला, मेलखाल, बिष्टटोल र अर्खा रजवारा लगायतका बस्तीमा घाम लागेपछि मात्रै मोबाइल नेटवर्क टिप्ने समस्या रहेको छ । सामान्य सञ्चार सुविधा समेत सहज नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।

त्यस्तै, नारीकोट र पूँजामा पानीका मुहान कम हुँदा खानेपानीको सहज पहुँच छैन । उपलब्ध मुहानबाट धारामा पानी पु¥याउन समेत स्थानीयको पर्याप्त श्रमदान नहुँदा समस्या भइरहेको वडा नं. ५ का अध्यक्ष वरुणध्वज मल्लले बताए । ‘जनताको पनि एउटा समस्या छ, श्रमदान गर्न जादैनन् अनि धारामा पानी आउँदैन । समस्या त्यहाँ पनि छ,’ मल्लले भने ।
मल्लका अनुसार बजेट निर्माण हुनुअघि प्यूठानका संघीय सांसद सुशान्त वैदिकलाई गाउँमै बोलाएर स्वागत तथा सम्मान गर्दै स्थानीय आवश्यकताबारे ध्यानाकर्षण गराइएको थियो । तर, आफूहरूले राखेका मागमध्ये एउटा पनि बजेटमा समावेश नभएको उनको गुनासो छ । ‘हामीले बजेट बन्नुअघि हाम्रो माननीय संघीय सांसद सुशान्त वैदिकलाई गाउँमै बोलाएर स्वागत–सम्मान ग¥यौँ, मागहरू राख्यौँ । तर एउटा माग पनि बजेटमा समावेश भएन’ मल्लले भने ।
यसैबीच, गौमुखी गाउँपालिका भ्रमणका क्रममा स्थानीयले भोगेका जनजीविकाका समस्या नजिकबाट देखेका कमल यात्रीले ती समस्या सांसद वैदिकसमक्ष पु¥याउन खोज्दा फोन नउठाएको र पछि कल ब्याकसमेत नगरेको भन्दै सामाजिक सञ्जाल मार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।
यात्रीले जनताका समस्या सुन्नु र समाधानका लागि पहल गर्नु जनप्रतिनिधिको जिम्मेवारी भएको उल्लेख गर्दै जनप्रतिनिधि जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिएका छन् । दुर्गम बस्तीमा सञ्चार र खानेपानीजस्ता आधारभूत सुविधाको समस्या कायमै रहनु तथा स्थानीय तहबाट उठाइएका मागसमेत बजेटमा नसमेटिनुले जनप्रतिनिधिको प्राथमिकता र जवाफदेहितामाथि प्रश्न उठाएको छ।