प्यूठान : प्यूठानको गौमुखी गाउँपालिकाको लिवासेमा १५ शैंयाको आधारभूत अस्पतालको भवन निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने महादेव–खिम्ती–आँसु–मल्लरानी जे.भी.प्यूठान नगरपालिका–४, विजुवारलाई अस्पतालले सम्मान गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माण कम्पनीका प्रतिनिधि बालाजु श्रेष्ठलाई सम्मान गरेका हुन् ।
कुल १९ करोड ३ लाख ४५ हजार ५ सय ५२ रुपैयाँ लागतमा निर्माण भएको अस्पताल भवनको निर्माण सम्झौता २०७९ वैशाख १५ गते भएको थियो। २०७९ असार १० गते गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले शिलान्यास गरेपछि निर्माण सुरु भएको भवन २०८२ माघ १५ गते सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी गराए ।
निर्धारित समयमै गुणस्तरीय रूपमा आयोजना सम्पन्न गरेको भन्दै गाउँपालिकाले निर्माण कम्पनीलाई सम्मान गरेको जनाएको छ। श्रेष्ठ जिल्लामा विभिन्न विकास निर्माणका योजनाहरू समयमै सम्पन्न गर्दै आएका युवा निर्माण व्यवसायीका रूपमा परिचित छन्। यसअघि पनि विभिन्न योजनाहरू निर्धारित समयमै सम्पन्न गरेबापत श्रेष्ठ तथा उनको निर्माण कम्पनी सम्मानित हुँदै आएको छ ।
स्थानीय तह तथा सरकारी निकायका विकास आयोजनामा समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको सम्मानले निर्माण क्षेत्रमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।