प्यूठान : प्यूठानका निवर्तमान संघीय सांसद् सूर्य थापाको विशेष जोडबलमा तीन वर्षको अवधिमा चार अर्ब बढी बजेट जिल्लामा भित्रिएको छ । पहिलोपटक संघीय सांसद् बनेका थापाले सरकारले पठाउने नियमित बजेटको अलवा अतिरिक्त बजेट प्यूठानमा भित्र्याएका हुन् । थापाले आफ्नो गृह जिल्लामा सरकारले बजेट विनियोजन गर्न आनाकानी गरेमा त्यसको खुलेरै प्रतिकार गर्दै आएका थिए । आफ्नै सरकारका भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ हुँदा पनि उनले संसद्को रोष्टममै पुगेर विरोध गर्ने गरेका थिए ।
आफू सांसद् निर्वाचन भएको पहिलो वर्ष ७६ करोड, दोस्रो वर्ष १ अरब ६२ करोड र तेस्रो वर्ष १ अरब ६३ करोड बजेट जिल्लामा विनियोजन भएको उनले बताए । नौमुरे जलाशययुक्त परियोजना पहुँचमार्ग अन्तर्गत दरभानदेखि झिलिवांग पुग्ने सडक, भालुवाङ प्यूठान सडकलाई गर्जेनी पहिरो सहित ४० करोड, खैरादेखि सारीवाङ सडकलाई सात करोड, विजुवार टारीदेखि ढुंगेठाँटीहुँदै रोल्पाको अरेस पुग्ने सडकलाई साढे आठ करोड, दाखाक्वाडीदेखि डबल लेनको सडक निर्माण विस्तार, बाग्दुला मच्छि ढाँड पुग्ने सडक खण्ड अन्तर्गत मच्छिको तिल्हाल्नादेखि ढाँडसम्मको सडक विस्तार गर्ने काम भइरहेको उनले बताए ।
प्यूठानका गाउँबस्तीमा मत माग्न व्यस्त उम्मेदवार थापाले प्यूठानलाई राष्ट्रिय राजनीतिसंग प्रत्यक्ष जोड्ने र विकास निर्माणका कामलाई तिव्रता दिनेगरी आफूले काम गरिरहेको जानकारी दिए । जिल्लामा सवैक्षेत्रको विकासका लागि संघीय संसद्मा आवाज उठाउने मात्र नभई मन्त्रालयगत रुपमा आफैँ पुगेर बजेट विनियोजन गर्न विशेष जोड गरिएको उनको भनाई छ ।