प्यूठान : जिल्ला अस्पताल प्यूठानमा एकैपटक तीन शिशुको सुरक्षित जन्म भएको छ। रोल्पाको लुङ्ग्री गाउँपालिका–३ की ३२ वर्षीया यामसरी रोकाले दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्।
अस्पतालका अनुसार जन्मिएका तीन शिशुमध्ये एकको तौल २ हजार ग्राम, अर्कोको १ हजार ६ सय ग्राम र तेस्रोको १ हजार ३ सय ग्राम रहेको छ। समय नपुगी जन्मिएका तथा कम तौल भएका कारण तीनै शिशुलाई अस्पतालको विशेष नवजात शिशु उपचार केन्द्रमा राखेर उपचार तथा निगरानी भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुवास पौडेलले जानकारी गराए।
प्रसूति गृहमा खटिएको स्वास्थ्यकर्मीको टोलीको निरन्तर प्रयासपछि तीनै शिशुको सुरक्षित प्रसूति गराउन सफल भएको अस्पतालले जनाएको छ।
यसैबीच, जिल्ला अस्पताल प्यूठानका अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बस्याल ‘रोयल’ का अनुसार पछिल्लो १५ दिनमा मात्रै अस्पतालबाट करिब १ सय जनाले प्रसूति सेवा लिएका छन्।
अध्यक्ष बस्यालले प्रसूति सेवाका लागि सकेसम्म अन्यत्र रेफर नगरी जिल्लामै सेवा उपलब्ध गराउने प्रयास भइरहेको बताए। उनका अनुसार प्रसूति गृहको नेतृत्व एमडीजिपी डा. सन्तोष केसीले गरिरहेका छन्।
एकैपटक तीन शिशुको सुरक्षित जन्मसँगै पछिल्लो १५ दिनमा करिब १०० जनालाई प्रसूति सेवा दिन सफल हुनु जिल्ला अस्पताल प्यूठानको प्रसूति सेवामा देखिएको सकारात्मक प्रगतिको रूपमा लिइएको छ।