प्यूठान : दुर्घटनामा परी अकालमै बुवाको मृत्यु भएपछि विचल्लीमा परेका दुधे छोरा सहितको परिवारलाई युवा नेता प्रमोद पोख्रेलले सहयोग संकलन अभियान शुरु गरेका छन् । पोख्रेलले सोमवार सामाजिक सञ्जालमा सार्वजनिक अपिल गर्दै विचल्लीमा परेको उक्त परिवारलाई सहयोग गरिदिन् सवैमा आग्रह गरेका हुन् । पोख्रेलले यसअघि पनि दर्जनौं दिनदुःखीको परिवारलाई सहयोग संकलन अभियान थालेर लाखौं रुपैयाँ जुटाएका छन् ।
झिमरुक गाउँपालिकाका उपाध्यक्ष समेत रहेका पोख्रेलले पीडित परिवारकै बैंक खाता नम्वर र क्युआर कोड सार्वजनिक गरेर सहयोग गरिदिन् आग्रह गरेका छन् । गाउँपालिकाको उपाध्यक्ष भएको व्यक्तिले सहयोग आव्हान गर्दा भरपर्दो हुने र दुरुपयोगको समस्या नहुने भएपछि देशविदेशबाट विश्वास गरी सहयोग गर्ने गरेको पाइएको छ । पोख्रेलले १३ औं दिनको पुण्यतिथीमा भान्सामा लाग्ने सम्पूर्ण खर्च आफूले गर्ने समेत बताएका छन् ।
झिमरुक गाउँपालिका–४ सुमन्तेकाना प्यूठानका बावुराम रोकाको कात्तिक २२ गते भारतमा मजदुरी गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएको थियो । परिवारको मुख्य सहारा बनेका एक्लो छोराको मृत्युपछि वृद्ध बुवाआमा, श्रीमती, भाईवहिनी र नावालक छोराको विचल्ली भएको छ । ३२ वर्षीय बाबुराम विगत १४ वर्षदेखि निरन्तर भारत आउजाउ गर्दै मजदुरी गरिरहेका थिए ।
अहिले यो परिवारलाई बावुरामका ढाई वर्षिय छोरा विडित रोका सहित बृद्ध बुवाआमाको पालनपोषण कसरी गर्ने भन्ने पिरलो छ । ६५ वर्षिय बुवा दाम बहादुर रोका आफैं विरामी छन् । २२ वर्षअघि उनीपनि कामकै शिलशिलामा भारतको पञ्जाव लुधियानामा प्रेसरले हानेपछि विरामी परेका हुन् । अहिले निरन्तर औषधी खाइरहन्छन् ।
बावुराम आफु त अस्ताए । तर, अहिले परिवारलाई उनको १३ औं दिनको काजकिरिया कसरी उम्काउने भन्ने पिरलोले सताएको छ । चरम आर्थिक चपेटाबाट गुज्रिरहेका बावुरामका नावालक छोरा, बृद्ध बुवाआमा र श्रीमतीको भविष्यबारे त पविारले सोँच्न समेत सकेको छैन् । यो परिवारलाई सहयोग गरिदिन् गाउँलेहरुले समेत सार्वजनिक अपिल गरिरहेका छन् ।