बुटवल : नेपाली कांग्रेसको आशन्न राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधीमा गुल्मीका युवा उम्मेदवार दर्शन थापा उम्मेदवार बनेका छन् । पार्टी केन्द्रले ३५ वर्षमूनिबाट युवा उम्मेदवार छनौट हुनुपर्ने प्रावधान अनुसार ३१ वर्षिय थापा गुल्मी निर्वाचन क्षेत्र नम्वर २ बाट उम्मेदवार बनेका हुन् ।
असोज १० गते महाधिवेशन प्रतिनिधीका लागि गुल्मीमा निर्वाचन हुँदैछ । अष्ट्रेलियाबाट एमबिए उत्र्तिण गरेका थापा मुसीकोट नगरपालिका–१ पैदीअमराई निवासी हुन् । युवा अवस्थामै सामाजिक क्षेत्रमा क्रियाशिल थापाले समाजप्रति अझ उत्तरदायी बनेर नेपालकै भूमिमा सेवा गर्ने अठोट लिएका छन् ।
देशको मुलनीति राजनीति भएकाले समाज परिवर्तनका लागि राजनीतिलाई जनताप्रति उत्तरदायी बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको थापाको धारणा छ । ‘नेपाली कांग्रेससँग मेरो सम्बन्ध कुनै पद वा अवसरको खोजीबाट शुरु भएको होइन् । यो सम्बन्ध मेरो बाल्यकालदेखि जोडिएको विश्वास, विचार र राजनीतिक संस्कारसँगको यात्रा हो’,थापा भन्छन्,‘यस यात्रामा मैले कांग्रेसलाई नजिकबाट बुझ्ने अवसर पाएँ । समाजसँग जोडिँदै जाँदा लोकतन्त्र, समाजवाद, राष्ट्रियता र जनताको अधिकारका विषयलाई अझ गहिरो रूपमा बुझ्दै गए । यात्राका क्रममा सिकाइहरू रहे, कमजोरीहरू रहे, चुनौतीहरू पनि आए । तर ती सबै अनुभवले मलाई अझ परिपक्व बनाउँदै लगे ।’
बदलिदो समयमा आवश्यकता पनि बदलिँदैछन् । त्यसैले कांग्रेसभित्र पनि नयाँ सोच, नयाँ ऊर्जा र पुस्तान्तरणसँगै अनुभवको सम्मान आवश्यक रहेको थापा सुनाउँछन् ।
‘हामी युवाले केवल नेतृत्वको प्रतिक्षा गर्ने होइन, जिम्मेवारी लिन र नेतृत्व गर्न पनि तयार हुनुपर्छ’,थापा भन्छन्,‘वडाको आवाज क्षेत्र हुँदै जिल्लासम्म र केन्द्रसम्म पु¥याउने, युवाका सवाललाई पार्टीको एजेन्डासँग जोड्ने र कांग्रेसलाई नयाँ पुस्तासँग अझ नजिक बनाउने यात्रामा मेरो पनि भूमिका रहोस् भन्ने उद्देश्यले म उम्मेदवार बनेको हुँ ।’