प्यूठान : प्यूठानको गौमुखी गाउँपालिकामा १५ शैयाको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा आएको छ । १९ करोड ३ लाख ४५ हजार पाँच सय ५२ रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् ।
अस्पतालको उद्घाटनसँगै स्वास्थ्य सेवा समेत सुरु भएको छ । अस्पताल सञ्चालनमा आएपछि गौमुखी गाउँपालिकाका नागरिकले आधारभूत स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए ।
-1789739062.jpg)
उनले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारलाई प्राथमिकता दिइएको बताए । अस्पतालको सेवा प्रभावकारी बनेसँगै स्थानीय नागरिकले आफ्नै गाउँमा स्वास्थ्य उपचार पाउने अवस्था सिर्जना हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले अस्पतालको भौतिक संरचना निर्माणसँगै आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र औषधिको पर्याप्त व्यवस्थापनमा ध्यान दिने बताए । ‘डाक्टरहरूलाई सहरमुखी होइन, गाउँमुखी बनाउन हामीले ध्यान दिएका छौँ । सुगम ठाउँभन्दा पनि दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको छ,’उनले,‘यस अस्पतालमा जनशक्तिको व्यवस्थापन गर्नेछौँ । डाक्टर र अन्य स्वास्थ्यकर्मी पनि पठाउनेछौँ ।’

मुख्यमन्त्री आचार्यले पछिल्लो समय ३५ वर्षका उपलब्धिलाई बिर्सिएर ‘केही भएन’ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको समेत उल्लेख गरे । उनले यस अवधिमा भएका उपलब्धिबारे सबै जानकार रहेको स्पष्ट समेत पारे । ‘जनताको सेवाका निम्ति हरेक सुखदुःखमा साथ दिँदै अघि बढेका छौँ । हामी राजनीतिक संस्कारबाट अघि बढीरहेका छौँ । हरेक क्षेत्रमा समन्वय र सहकार्य गरेर काम गरिरहेका छौँ,’उनले भने । उनले स्थानीय स्तरका साझा समस्या समाधान गर्नु सबैको सामूहिक जिम्मेवारी र कर्तव्य भएको बताए । अधुरा तथा अपुरा आयोजनाको प्रदेश सरकारले अनुगमन गर्ने र आवश्यकताअनुसार समस्या समाधानका लागि पहल गर्ने उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले आधारभूत अस्पतालको सेवा प्रवाह, जनशक्ति र उपकरण व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । उनले अस्पताल सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिए ।
प्यूठानका प्रमुख जिल्ला अधिकारी शान्तराज परसाईलगायतले अस्पतालबाट स्थानीय नागरिकले सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । अस्पताल सञ्चालनमा आएसँगै गौमुखी गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकलाई सामान्य स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचार सेवा स्थानीय तहमै उपलब्ध हुने स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैशीले जानकारी गराए ।
कार्यक्रमको अवसरमा महेन्द्र माध्यमिक विद्यालय, पूजा, कोड्का, प्यूठानले विद्यालय भवन निर्माण पूरा गर्न आवश्यक बजेट प्राथमिकतामा राख्न मुख्यमन्त्रीसमक्ष अनुरोध गरेका थिए ।