प्यूठान : लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने क्रममा प्यूठानमा यातायात सेवा कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश सरकारको निर्णयअनुसार आगामी आर्थिक वर्षदेखि लुम्बिनी प्रदेशका सबै १२ वटै जिल्लामा यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने व्यवस्था मिलाईएको शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले जानकारी दिए ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यातायात सेवा कार्यालय नभएका जिल्लाहरू गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम पूर्व, बर्दिया र दाङको घोराहीबाट सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यससँगै अब नागरिकहरूले सवारी दर्ता किताब नवीकरण, अस्थायी बाटो इजाजत लगायतका सेवा आफ्नै जिल्लाबाट प्राप्त गर्न सक्ने भएका छन्। हालसम्म यी सेवा लिनका लागि प्यूठान लगायतका जिल्लाका सेवाग्राहीहरूलाई दाङको तुलसीपुर, बाँके वा बुटवलसम्म पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो ।
प्यूठानमा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णयलाई मन्त्री रोज राणा यस अघि यातायात मन्त्री हुँदा नै प्यूठानमा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेका थिए, जसलाई अब कार्यान्वयनतर्फ अघि बढाईएको हो।
यो निर्णयपछि प्यूठानका नागरिकले यातायात सेवा लिनका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।