प्यूठान : जिल्ला प्रहरी कार्यालय प्यूठानमा गत आर्थिक वर्ष २०८२÷८३ मा पछिल्लो पाँच वर्षकै उच्च २७२ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा २२० वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष यो संख्या बढेर २७२ पुगेको प्रहरीको वार्षिक कार्यसम्पादन विवरणले देखाएको छ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ मा १९२, २०७९÷८० मा १७६, २०८०÷८१ मा २०६, २०८१÷८२ मा २२० र २०८२÷८३ मा २७२ वटा मुद्दा दर्ता भएका छन्। यसले पछिल्लो पाँच वर्षयता जिल्लामा मुद्दा दर्ताको संख्या उच्च बिन्दुमा पुगेको देखाएको छ।
गत आर्थिक वर्ष दर्ता भएका २७२ मुद्दामध्ये १४९ वटा मुद्दा फछ्र्योट भएका छन् भने १२३ वटा मुद्दा प्रक्रियामा रहेका छन्। प्रक्रियामा रहेका मुद्दामध्ये ९१ वटा आत्महत्या सम्बन्धी घटना रहेका छन् भने बाँकी ३२ वटा मुद्धामध्ये बैंकिङ कसुर, चोरी, साइबर अपराध, हराएका मोबाइल, हराएका व्यक्ति तथा अन्य प्रकृतिका मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। प्रहरीका अनुसार यस्ता मुद्दाको प्रकृतिअनुसार अनुसन्धान तथा कानुनी प्रक्रिया फरक–फरक हुने भएकाले ती मुद्दा प्रक्रियामै रहेका हुन्।
जिल्ला प्रहरी प्रमुख डीएसपी नरहरि अधिकारीले अपराध अनुसन्धान, फैसला कार्यान्वयन, फरार प्रतिवादी पक्राउ, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै शान्ति–सुरक्षालाई थप सुदृढ बनाउने गरी काम भइरहेको बताए। उनले प्रत्येक मुद्दाको प्रकृतिअनुसार निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धानलाई प्राथमिकता दिईएको उल्लेख गरे।
यसैबीच, नेपाल प्रहरी प्रधान कार्यालयले गरेको जेठ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय प्यूठान २५ पहाडी जिल्ला प्रहरी कार्यालयमध्ये पहिलो बनेको थियो। वैशाख महिनामा पनि पहिलो स्थान हासिल गरेको प्यूठान प्रहरीले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा लगातार दोस्रो महिना उत्कृष्ट कार्यसम्पादन कायम राख्न सफल भएको हो।
एक वर्षमा ६१ फरार प्रतिवादी पक्राउ
आर्थिक वर्ष २०८२÷८३ मा जिल्ला प्रहरी कार्यालय प्यूठानले अदालतबाट फैसला भई फरार रहेका ६१ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। फैसला कार्यान्वयन अभियानलाई प्रभावकारी बनाउँदै फरार प्रतिवादीको खोजी तथा पक्राउलाई निरन्तरता दिइएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
एक वर्षमा ९१ जनाले गरे आत्महत्या
गत आर्थिक वर्ष प्यूठानमा ९१ जनाले आत्महत्या गरेका छन्। तीमध्ये ८५ जनाले झुण्डिएर, चार जनाले विष सेवन गरी, एक जनाले आगो लगाएर तथा एक जनाले अन्य माध्यमबाट ज्यान गुमाएका छन्। पालिकागत रूपमा प्यूठान नगरपालिकामा सबैभन्दा बढी १९ आत्महत्याका घटना दर्ता भएका छन्।
ट्राफिक कारबाहीबाट ४४ लाख २७ हजार रुपैयाँ राजस्व संकलन
आर्थिक वर्ष २०८२÷८३ मा जिल्ला ट्राफिक प्रहरीले ३ हजार ३९५ सवारीसाधनमाथि कारबाही गर्दै ४४ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि नियमित कारबाहीलाई निरन्तरता दिइएको प्रहरीको भनाई छ।