प्यूठान : नवौँ तहका चिकित्सक डा. सुरज पोखरेल करिब तीन महिनामै रोल्पाको रेउघा अस्पतालमा सरुवा भएपछि प्यूठान अस्पतालको आगामी नेतृत्वबारे चासो बढेको छ । उनको सरुवासँगै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी अब कसले पाउने भन्ने प्रश्न उठेको हो ।
लुम्विनी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रोल्पा सरुवा भएका डा. पोखरेल रेउघामा नवौँ तहका एक्ला चिकित्सक हुने भएकाले त्यहाँ मेसुको जिम्मेवारी पाउने सम्भावना छ । प्यूठानमा उनले सिनियर चिकित्सकको अनुपस्थितिमा केही समय प्रशासनिक जिम्मेवारी सम्हालेका थिए, तर औपचारिक रूपमा निमित्त मेसु नियुक्त भएका थिएनन् ।
प्यूठान अस्पतालका हालका निमित्त मेसु डा. सुवास पौडेल पनि नवौँ तहका चिकित्सक हुन्। यसअघि करिब एक वर्ष आर्थिक अख्तियारी सहित निमित्त मेसुको जिम्मेवारी सम्हालिसकेका पौडेलले नै निरन्तरता पाउने वा प्रदेश सरकारले नयाँ नेतृत्व पठाउने भन्ने टुंगो लागेको छैन।
अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बस्यालले भने सम्बन्धित निकायले जसलाई मेसुको जिम्मेवारी दिए पनि आफूहरू सहकार्य गरेर अघि बढ्ने बताएका छन्। ‘सम्बन्धित सरोकारवाला निकायले जसलाई पठाउँछ, हामी सहकार्य गरेरै काम गर्छौँ। अस्पतालको विकासमा परिणाममुखी काम गर्न हरदम लागिपर्ने नै छौँ,’ बस्यालले भने ।
प्यूठान नगरपालिकाका पूर्व नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जनशक्ति खटनपटनमा राजनीतिक नेतृत्वले सहज वातावरण बनाउनुपर्ने बतार। अस्पतालका पूर्व एमडीजिपी डा. सन्तोष केसीले मेसु छनोटमा योग्यता, क्षमता, अनुभव र काम गर्ने प्रतिबद्धतालाई आधार बनाउनुपर्ने बताए। अस्पताललाई व्यक्तिगत स्वार्थ, गुटबन्दी र राजनीतिक प्रभावको थलो बनाउन नहुने उनको भनाई छ।
यसबीच अध्यक्ष बस्यालले डा. पोखरेललाई मेसु बनाउन चाहेको तथा डा. पौडेलले राजनीतिक पहुँच प्रयोग गरेर डा. पोखरेलको सरुवा गराएको भन्ने चर्चा बाहिर आएको छ। तर दुवै विषयको स्वतन्त्र पुष्टि भएको छैन। सरुवा कसको प्रस्ताव वा सिफारिसमा भएको हो भन्ने पनि स्पष्ट छैन।
अब प्रदेश सरकारले प्यूठान अस्पतालको नेतृत्वबारे गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ। मेसु छनोट व्यक्ति विशेषको प्रभाव भन्दा योग्यता, क्षमता र संस्थाको आवश्यकताका आधारमा हुनुपर्ने सरोकारवालाहरूको अपेक्षा छ। साथै चिकित्सकको खटनपटन पनि राजनीतिक प्रभावमुक्त, पारदर्शी र सेवा आवश्यकतामा आधारित हुनुपर्ने देखिन्छ।