प्यूठान : जिल्लामा बिद्यालयको शैक्षिक सुधार र गुणस्तर वृद्धिको लागि शिक्षक, बिद्यार्थी र अभिभावकको सहकार्य अपरिहार्य रहेको जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जिसीले बताएका छन् । चिरायु मा.बि. चिसावाङको ५९ औं वार्षिकोत्सब तथा अभिभावक भेलालाई सम्बोधन गर्दै जिसीले शैक्षिक, भौतिक र आर्थिक बिकासको लागि सबै पक्ष मन, वचन र कर्मले लाग्नुपर्ने बताएका हुन् ।
उनले भने,‘शिक्षा भनेको महत्वपूर्ण बिषय भएकोले यसतर्फ सबैको चासो आवश्यक छ ।’ तपाई हामीले व्यवहारिक शिक्षा दिन सकेमात्र असल विद्यार्थी उत्पादन हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने बताए । राज्यलाई काम लाग्ने उत्पादनमा जोड दिँदै गम्भीर भएर लाग्न शिक्षक विद्यार्थी र अभिभावकलाई जिसीले आग्रह गरे । अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सिकाइमा सहयोग गर्न झिमरुक गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन बिसीले बताए । ‘सबैको सहकार्य भए बिद्यालयको प्रगति सम्भव छ । नमुना बिद्यालय बनाउन सबै चनाखो हुनुपर्छ ।’, उनले भने ।
शिक्षालाई सबल बनाउन लागानी, व्यवहारिक शिक्षा, सबल ब्यवस्थापन र दक्ष शिक्षक जागरुक अभिभावक र मेहनती विद्यार्थी भएमात्र शिक्षाले गुणात्मक फड्को मार्ने उनको भनाइ छ । मोबाइलको गलत प्रयोगले विद्यार्थी भाइबहिनीहरुलाई मनोबैज्ञानिक असर गरेको भन्दै उनले मोबाइल र सामाजिक सञ्जाललाई दुरुपयोग नगरी समय सापेक्ष आफूलाई अगाडि बढाउन आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमान सिंह जिसीले बिद्यालयको चौतर्फी बिकासको लागि सबैको सहयोगले मात्र पूरा गर्न सकिने बताए । बिद्यालयलाई उच्च मावीमा स्तरोन्नती गर्नुपर्ने भएकाले सवैको सहयोग आवश्यक रहेको बताए ।