बुटवल : सितगंगा नगरपालिका वडा नम्वर ४ स्थित ठाडाका २६ वर्षिय सुवोध बेल्वासे इन्जिनियर हुन् । उनी विगत दुई वर्षदेखि त्रिुशली थ्रि बी हाइडोपावरमा कार्यरत थिए । बुवा सुरेन्द्र र आमा सावित्रा बेल्वासेका दुई सन्तानमध्ये उनी एक्लो छोरा हुन् । उनीमाथी एउटी दिदी छिन् ।
बाढीले बगाउनु अघिल्लो दिन बेल्वासले भदौ ९ गते घरमा आमासित फोन गरेका थिए । तर, १० गते बाढीले बगाएपछि उनी बेपत्ता छन् । शव राखेका धेरै ठाउँहरुमा बेल्वासेका बुवाआमा छोराको शव खोज्दै भौतारिएका छन् । तर, अवस्था अहिलेसम्म केही पत्ता लागेको छैन् । छोराको न सास न लासको अवस्था हुँदा बुवा आमा सहित बेल्वासे परिवार अहिले पीडामा तड्पिएको छ ।
‘भाईलाई खोज्न धेरै ठाउँ पुग्यौं तर अहिलेसम्म अवस्था पत्ता लगाउन सकिएको छैन्’,भाई नाता पर्ने जनक केसीले भने,‘फूपुफुपाजुहरु बाढी आएको अर्को दिनदेखि काठमाण्डौंमै हुनुहुन्छ । काठमाण्डौंदेखि दिनहुँ त्रिशुली आउजाउ गरेर छोरा भेटिन्छन् की भनेर पुग्नुहुन्छ तर अवस्था केही थाहा हुनसकेन् ।’
बेल्वासेका बुवा सुरेन्द्रले शवहरुको व्यवस्थापनमा सरकारले सन्तुष्टि हुनेगरी काम नगरेको गुनासो गरेका छन् । ‘आलु तरकारी पनि वर्षौसम्म शितभण्डारमा राख्न सकिन्छ’,बुवा बेल्वासेले भने,‘तर तीन चार सय वटा शवको सही व्यवस्थापन गर्न नसकेर सरकारले माटोमूनी गाडीसक्यो । आफन्तहरुले शव हेर्न पाउनुपर्छ ।’ उनले छोरालाई मेहनत गरेर भारतमा सिभिल इन्जिनियर पढाएको सुनाए ।
छोरा केही समयपछि स्नातकोत्तर तह (डिग्री)को पढाईका लागि अमेरिका जाने तयारीमा समेत रहेको बुवाले बताए । छोराको अन्तिम लोकेशन त्रिशुलीकै पावरहाउसमा देखिएको उनको भनाई छ । छोराको शव खोज्नका लागि आफूहरु काठमाण्डौं सहित चितवन, बुटवल, भैरहवा र नवलपरासीमा पुगेको उनले बताए । उनको छोराको दाहिने हातमा ट्याटु हानिएको छ ।