जबजव निर्वाचन नजिकिँदै जान्छ । दलहरुले चुनावी कार्यक्रम घोषणा गर्दे जान्छन् । गाउँगाउँमा चुनावी चहलपहल बढ्दै जान्छ । चिया चौतारोमा समेत पार्टी र व्यक्तिका कुरा छलफलका विषय बन्छन् । चुनावी रौनक बढ्दै जाँदा मतदाताले अब आउने जनप्रतिनिधीबाट के अपेक्षा गर्छन् ? जनताबाट निर्वाचित प्रतिनिधी भनेकै जनप्रतिनिधी हो ।
उसले जनताको आवाज बोकेर राज्यको संयत्रमा पुग्ने र सोही अनुसार कार्यक्रम, नीति, योजना निर्माण गरी समस्याको समाधान गर्ने हो । खासमा जनप्रतिनिधीको मुलमर्म नै यहि हो । यसैकारण नागरिकहरुले जनताका पीडामा मल्हम लगाउने प्रतिनिधीलाई जनप्रतिनिधीको वजनदार सम्वोधन दिएका हुन् ।
तर, आजभोली सामूहिक विकासमा भन्दा व्यक्तिगत इच्छा, चाहना र भावनामा बढी केन्द्रित भएको देखिन्छ । निर्वाचनमा दलहरुले आ—आफ्नै तरिकाले समुदाय, गाउँको विकास र नागरिकको हितमैत्री योजनाको खाका बनाएर मतदातासमक्ष पुग्छन् । हिजो र आजको परिवेशमा मतदाताको माग वेग्लै पाईएको उम्मेदवारहरु सुनाउँछन् ।
मैले गुल्मीका एक उम्मेदवारलाई सोधें,‘चुनावमा होमिनु भएको छ । घरदैलो कार्यक्रम लगभग एक चरणको सकिसक्नु भयो । के भन्छन् मतदाता ? तपाईको चुनावी योजना के हो ?, उम्मेदवारले जवाफमा भने, ‘म निर्वाचनमा सामुहिक विकास, शिक्षा, स्वास्थ्य, दिगो रोजगारी र कृषि उत्पादनलाई बढाएर समग्र गाउँपालिकाको विकास, एकघर एकधारा, महिलाको शशक्तिकरण, कच्ची सडकलाई पक्की गराउने लगायतका योजना लिएर चुनावी मैदानमा छु ।’,फेरी उनले थपे,‘तर मतदाताको अपेक्षा मलाई के गर्नुहुन्छ ? जीतेपछि मलाई कती लाखको योजना दिनुहुन्छ ? मलाई पाईप कती दिनुहुन्छ ? दाउरा राख्ने ठाउँ बनाउनु छ टिन कती पाता दिनुहुन्छ ? छोराले १२ पास गरेको छ, जागिर दिनुहुन्छ की नाई ? ऋण लागेको छ पैसा कती मिल्छ ? मसंग ५ वटा भोट छन् कती मिल्छ ? म तपाईको चुनाव प्रचारमा लाग्छु । बाइक, पेटेल र पैसाको व्यवस्था गर्नुस् ।’
यस्तै कुरा मतदाताले राख्नुहुन्छ । घरमै धारा पुगेको छ । मतदाताले पाईप माग्नुहुन्छ । घर कटेरा ढुंगाले छाउनु भएको छ । जस्ता पाता माग्नुहुन्छ । यस्तै मागले उम्मेदवारले चुनावी समग्र विकासका योजना भन्दा व्यक्तिगत ईच्छा पुरा गर्नका लागि निर्वाचन पछिल्लो समय खर्चिलो बन्दै गएको उम्मेदवार बताउँछन् ।
समुदाय र गाउँको विकासका लागि सामुहिक योजना र कार्यक्रम बनाउने हो । तर उम्मेदवारले व्यक्तिपिच्छे माग पुरा गरेरै भएपनि चुनावमा होमिनुपर्ने अवस्था भएको सुनाउँछन् । स्थानीय सरकारले गरेका कामले नागरिकमा कस्तो प्रभाव परेको छ भन्ने विषयमा समाचार लेख्न म गाउँ पुगेको थिए ।
डोकोमा पानी बोक्दै गरेकी एक महिलालाई सोंधे,‘तपाईको घरमा धारा छैन ?,उनले भनिन्,‘धारो पनि छैन, जितेका नेतालाई पाईप मागेको दिएनन् । भोट माग्न त फेरी आउलान्नी ।’,प्रति प्रश्नमा उनले भनिन्,‘पानीको मुहान तल छ , मेरो घर माथी छ । पाईप ल्याएपनि पानी डोकामै बोक्नुपर्छ ।’
पाईप किन चाहियो त तपाईलाई ?,उनले भनिन्,‘पारीको गाउँमा दिएका छन् । हामलाई नी दिनपर्ने हो ।’ मैले उनलाई भने, तपाईलाई घरमा खानेपानीको धारा चाहिएको हो । तपाईको टोलमा योजना माग्नुस् । मैले उनकै अगाडी वडा अध्यक्षलाई फोन गरेर तपाईको वडाको यो गाउँमा एकघर एक धारा पुगेको रैनछ भने ।
वडा अध्यक्षले तल्लो गाउँमा आएको छ । त्यहाँ टंकी बनाएर लिफ्टिङको पानी ल्याउनुपर्छ । योजना परेको छ भनेर सुनाए । त्यसपछि मैले पानी आउँछ तपाईको घरमा केही महिनापछि भनेर हिँडे । मतदाताले आफनो टोल र समुदायमा आवश्यकता भएका समस्या र योजना सामुहिक रुपमा उम्मेदवारसंग राख्न सक्ने हो भने समुदायको विकास सोँचेभन्दा पनि चाँढो हुन्छ । सामुदायिक विकासले नै व्यक्तिका चाहाना, ईच्छा र आवश्यकता पुरा हुने हुन् । वितरणमुखी योजना र कामले नागरिकलाई तत्काललाई फाईदा त पुग्ला तर दिगो विकास हुन कदापी सक्दैन । नागरिकलाई परिश्रमी होईन परनिर्भर बनाएको छ । यसतर्फ मतदाता र उम्मेदवारले ध्यान दिन आवश्यक छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा व्यक्तिगत होइन्, सामूहिक विकासमा चासो राख्ने नेतालाई चुनौ र समृद्ध गाउँ बनाउँ ।