आदरणीय नेपाली काँग्रेसका सभापति
श्री शेरबहादुर देउवा ज्यू,
जय नेपाल !
नेपालमा २०४८ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको महत्वपूर्ण समयमा नेपाली काँग्रेसभित्र नयाँ पुस्ताका प्रभावशाली नेताका रूपमा तपाईँ उदाईरहेको ऐतिहासिक वेला तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला प्यूठानबासीलाई सम्बोधन गर्न आउँदा तात्कालिन कथित मसालले उहाँमाथि ढुंगामुढा गर्ने दुर्भाग्यपूर्ण घटनाले नेपाली काँग्रेसका नेताहरूले व्यहोर्नु परेको संघर्ष र पीडाको गहिरो सम्झना गराउँदै आज त्यहि जिल्लाबाट यो शन्देश सम्प्रेषण गर्दैछु ।
राणाशासनको अन्धकार चिर्नु भएको, बी.पी. बिचारसँगै प्रजातन्त्रको ज्योति जलाउन आफ्नो सम्पूर्ण जीवन समर्पण गर्दै दुईपटक पार्टी सभापति तथा पाँचौ पटकसम्म मुलुकको नेतृत्व गर्नुभएका तपाईँ हाम्रो लागि जीवित इतिहास हुनुहुन्छ । तपाईँको संघर्षकै कारण हामी आज बोल्न, लेख्न र स्वतन्त्रता अनुभव गर्न पाएका छौं ।
तर, आजको दिनमा कथित जेन्जी नामक अराजक भीडले गरेको आन्दोलनमा तपाईँकै घर जलाउने, ज्यान नै लिन खोज्ने जस्ता अराजक प्रयासहरू हुँदा हाम्रो मन अमिलिएको छ । लोकतन्त्रका पहरेदारमाथि यस्तो आक्रमण हुनु भनेको सम्पूर्ण काँग्रेस कार्यकर्तामाथि प्रहार हुनु हो भन्ने हामी अनुभूत गर्दछौं ।
सभापति ज्यू, तपाईँको स्वास्थ्य लाभको हार्दिक शुभकामना गर्दै हामी भन्न चाहन्छौं—तपाईँ अझै पनि लोकतन्त्रको पहाड हुनुहुन्छ । नेपाल आमाको छातीमा आगो बलिरहेको बेला देशको चिन्ता नगरेर पार्टिको चिन्ता गर्ने भनेर प्रश्न चिन्ह त आउलान तर राजनितिक पार्टीबीना देशले निकास किमार्थ पाउदैन त्यसैले समयको माग अनुसार नेतृत्व पुस्ता हस्तान्तरण गर्ने पहल तपाईँकै हातबाट शुरु भए काँग्रेस पुनः जनताको मनमा थप उज्यालो लिएर उभिन सक्नेछ।
हामी नयाँ पुस्ता, तपाईँकै सपना र बलिदानलाई अगाडि बढाउने संकल्पमा छौं । तर त्यसका लागि तपाईँले ऐतिहासिक सम्पत्ति सुरक्षित राख्दै भविष्यको जिम्मेवारी हस्तान्तरण गर्नु अत्यन्त जरुरी छ । हामी सधैं तपाईँलाई युगपुरुषका रूपमा सम्झनेछौं । तर काँग्रेस र लोकतन्त्र र सिंगो देशको भविष्य सुनिश्चित गर्न तपाईँको साहसिक निर्णय नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हुनेछ ।
पूर्ण स्वास्थ्य लाभको कामना गर्दै नेपाली काँग्रेसको सर्वोपरी सल्लाहकारको रुपमा सधै सम्झिने छौ ।
जय लोकतन्त्र !
जय नेपाल !