बुटवल : रुपन्देही क्षेत्र नम्वर ५ का प्रतिनिधीसभा सदस्य बासुदेव घिमिरेले फेसबुकमा जेनजी समूहलाई मर्मस्पर्शी पत्र लेखेका छन् । जेनजी उमेर समूहमा आफू दक्षिण कोरिया पुगेर गरेको श्रमको पैसाले अहिले बसीरहेको घर निर्माण गरेको र बैंकमा ऋण खोजेर होटल संचालन गरेको उनले लेखेका छन् । तिलोत्तमा नगरपालिकाको संस्थापक नगरप्रमुख हुँदा विश्वले चिन्ने र देख्ने गरी राम्रो काम गरेकै कारण आफूले सांसद्मा चुनाव जितेको उनले भनेका छन् ।
उनले भनेका छन्,‘संविधानले नैं दिएको व्यक्तिगत स्वतन्त्रता र बहुदलीय व्यवस्था अनुसार म पनि कुनै पार्टीमा जोडिएँको छु । राजनीतिलाई ‘पेशा’ गराइनु हुँदैन भनेर बैंक तथा व्यक्तिगत ऋणधन गरेर ड्राइभरटोलमा होटल व्यवसाय सुरु गरेँको हुँ,घिमिरेले लेखेका छन्,‘अझै पनि विभिन्न बैंक तथा वित्तीय संस्थाको ऋणको भारी बोकेरैं हिँडेको छु । उत्पादन र रोजगारी संग जोडीनु पर्छ भनेर, व्यवसाय गर्न पाउने संवैधानिक हकअनुसार ३०÷३५ जनालाई रोजगारी दिएर होटल व्यवसाय शुरु गरेको हु । आज म बस्ने घर र व्यवसायिक प्रतिष्ठान तोडफोड र आगजनीवाट ध्वस्त भएको छ ।’
यस्तो छ उनको मर्मस्पर्शी पत्र :
प्रिय जेनजी बाबुनानीहरु,
२०८२ भदौ २५ गते तिलोत्तमा नगरपालिका वडा नं. ४ मा रहेको मेरो निजी निवास र ड्राइभरटोलमा रहेको मेरो व्यवसायिक प्रतिष्ठान (होटल टुलिप प्रा.लि.) मा आगजनी तथा तोडफोड भएपछि आज म केही कुरा राख्न गईरहेको छु ।
प्रिय जेनजी बाबुनानीहरु,
भाद्र २३ गते जेनजीको आन्दोलनमा मृत्यु हुने कलिला बाबुनानीहरु प्रति पुनःहार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै, भ्रष्टाचार नियन्त्रण, सुसासन सहितका तपाईहरुको उचित माग सम्बोधन गर्न राज्य÷सरकार संग माग गरेको र सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको निर्णय फिर्ता लिन सामाजिक सञ्जाल मार्फत आव्हान गरेको कुरा यहाँहरुलाई जानकारी गराउदछु ।
म तपाईंहरुकैं उमेरको समयमा वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पुगेर श्रम पसिना गरेर कमाएको पैसाबाट हाल बस्दै आएको घर निर्माण गरेको हूँ । परिवारसँग बिछोड भएर दक्षिण कोरियामा आफ्नो श्रम पसिना खर्चिनु मेरो बाध्यता थियो । यसैले अहिले पनि म समय हुनासाथ श्रमसँग जोडिन्छु । श्रम संस्कृतिको विकास हुनुपर्छ भन्ने मान्यता राख्छु ।
प्रिय जेनजी बाबुनानीहरु,
संविधानले नैं दिएको व्यक्तिगत स्वतन्त्रता र बहुदलीय व्यवस्था अनुसार म पनि कुनै पार्टीमा जोडिएँको छु । राजनीतिलाई ‘पेशा’ गराइनु हुँदैन भनेर बैंक तथा व्यक्तिगत ऋणधन गरेर ड्राइभरटोलमा होटल व्यवसाय सुरु गरेँको हूँ । अझै पनि विभिन्न बैंक तथा वित्तीय संस्थाको ऋणको भारी बोकेरैं हिँडेको छु । उत्पादन र रोजगारी संग जोडीनु पर्छ भनेर , व्यवसाय गर्न पाउने संवैधानिक हकअनुसार ३०÷३५ जनालाई रोजगारी दिएर होटल व्यवसाय शुरु गरेको हु । आज म बस्ने घर र व्यवसायिक प्रतिष्ठान तोडफोड र आगजनीवाट ध्वस्त भएको छ ।
प्रिय जेनजी बाबुनानीहरु ,
तपाईंहरुलाई थाहा नैं छ, म तिलोत्तमा नगरपालिकाको पहिलो निर्वाचित नगर प्रमुख हुँ । तपाईं र तपाईंका आमाबुबाहरुकैं भोटले मैले २०७४ को स्थानीय तहको निर्वाचन जितेँ । शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति नगरबासीले गर्न पाउनुपर्छ भनेर म दिनरात नभनी तिलोत्तमाबासीको सर्वोपरि हितमा लागेर काम गरेँ । तिलोत्तमा नगरपालिकालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरममा परिचित गराएँ । सार्वजनिक शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाईको क्षेत्रमा तपाईंहरु समेत नगरबासीको सहयोगमा काम गरेर तिलोत्तमा नगरपालिकालाई मुलुकमैं उत्कृष्ट बनाएँ । नगरमा सबैको सहयोग र समन्वयमा एउटा थिति बसालेँ । हालका काठमाडौं महानगरका मेयर बालेन साह समेत तिलोत्तमा नगरपालिकामा आएर नगरको कामको तौरतरिकाको बारेमा जानकारी लिएको विषयलाई तपाईंहरुले सामाजिक सञ्जालबाट त्यतीबेला नैं थाहा पाउनु भएको हुनुपर्छ ।
प्रिय जेनजी बाबुनानी हरु,
तिलोत्तमा नगरपालिकाको ब्राण्डको आलोकमा मैले रुपन्देही क्षेत्र नं. ५ बाट २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेँ । प्रतिनिधिसभा सदस्यको रुपमा जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा म सधैं प्रतिबद्ध रहँदै आएको छु । भ्रष्टाचार विरुद्ध, सुशासन, समानुपातिक विकास, युवा र लगानीमैत्री वातावरण तथा निति निर्माणको लागि मैले संसदमा निरन्तर आवाज उठाउँदै आएको छु, यस सम्बन्धी भिडियो÷अडियो रेकर्ड सामाजिक सञ्जालमैं पनि हेर्न र सुन्न सकिन्छ । जनजीविका, राष्ट्र, राष्ट्रियता, जनताले पाएका दुःख, कष्टको विषयमा निरन्तर संसदमा आवाज उठाउने मध्येको सांसदमा मेरो नाम पनि आउँछ । सांसद कार्यकारी भूमिकामा नहुने भएकोले चाहेअनुसारको काम गर्न नसक्नु अर्को पाटो होला, तर नीतिगत सुधारका लागि आवाज वुलुन्द गर्न म कहिल्लै पछि परेको छैन । रुपन्देही क्षेत्र नं. ५ को विकासका लागि मेरैं र अन्य पार्टीका धेरै जना मन्त्रीज्यूहरुसँग मेरो नोकझोक समेत परेको छ ।
प्रिय जेनजी बाबुनानी हरु,
मैले श्रम र पसिनाले आर्जन गरेको मेरो वस्ने घर र व्यवसायिक प्रतिष्ठान प्रति तोडफोड र आगजनी जेनजीवाट भएको भन्नेमा म अहिले पनि विश्वस्त छैन । यो तपाईहरुको आन्दोलनमा घुसपैठ भएको हो भन्ने नै मेरो वुझाई हो ।
नयाँ सरकार बन्दै छ । मैले कुनै गलत तरिकाले धन सम्पत्ति जोडेको भए छानबिन होस्, त्यसको छानबिनमा सहयोग गर्न म सधैं तयार छु । मेरो घर र व्यवसायिक प्रतिष्ठान आगजनी र तोडफोड गर्नेहरु माथि कारवाही होस् । यसमा तपाईंहरुको साथ रहोस् ।
मलाई लाग्छ, तपाईंहरुले उठाएका धेरै माग मैले निरन्तर उठाईरहेको छु । भ्रष्टाचार नियन्त्रण, विकास, सुसासन, उत्पादन र रोजगारीका विषय मेरा पनि मुद्दा हुन् । यी मुद्दा तपाईहरुका पनि हुन् ।
अन्त्यमा,
लोकतन्त्र ÷ गणतन्त्र दुनियाँको उन्नत व्यवस्था हो । यहीँ व्यवस्थावाटै तपाईंहरुले राजनीतिक स्थायित्व र सुशासनका पक्षमा उठाएका मुद्दा स्थापित होऊनू ।
शुभकामना !
उही तपाईहरुको,
बासुदेव घिमिरे, तिलोत्तमा ।