प्यूठान : नेकपा एमाले प्यूठानको नेतृत्व यूवा नेता विजयविराज विष्टको काँधमा आएको छ । सोमवार सम्पन्न मतगणना अनुुसार उनले प्रतिस्पर्धी नेहरसिँह केसीलाई १ सय ३८ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । विष्टले ३ सय १४ मत लिए भने केसीले १ सय ७६ मत लिए । विष्ट एमाले प्यूठानमा कम उमेरमै नेतृत्व सम्हाल्ने नेतामा पर्छन् । प्यूठान नगरपालिका ३ दाखाक्वाडी निवासी विष्ट यस अघि अखिलमा लामो समय काम गरेका थिए ।
द्धन्दकालमा प्यूठानको विद्यार्थी आन्दोलनको उनले नेतृत्व गरेका थिए । विष्ट पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमका नीजि सचिव समेत हुन् । उनलाई पार्टी भित्र निडर नेताको रूपमा चिनिने गरिन्छ । लुम्विनी प्रदेश कमिटी सदस्यमा समेत उनको जिम्मेवारी छ । एमाले जिल्ला कमिटीको उपाध्यक्षमा झग बहादुर विश्वकर्मा विजयी भएका छन् । उनले २ सय ९५ र प्रतिस्पर्धी मूक्ती पोखरेलले १ सय ७९ मत लिए । विश्वकर्मा सरुमारानी गाउँपालिका अध्यक्ष समेत हुन् । सचिवमा नेगनसिँह कँवरलाई पछि पार्दै माधव पौडेल विजयी भए । पौडेलले २ सय ७२ र कँवरले १ सय ८६ मत लिए ।
उपसचिवमा माण्डवी गाउँपालिका अध्यक्ष समेत रोका श्रीधर रोकामगरले ३ सय ७२ र पत्रकारिता पृष्ठभूमीबाट आएकी दिपा घर्तीले ३ सय ८४ मत लिएर विजयी भए । दलित खुल्ला सदस्यमा राजेन्द्र गौतमले २ सय ७९ र पूर्ख सिँह सुनारले १ सय ७६ मत लिएर विजयी भएका छन् । आइतवार भएको मतदानमा ५ सय १० जनाले मतदान गरेका थिए । ९५ प्रतिशत मत खसेको थियो ।