बुटवल : प्यूठानका युवा नेता श्रीधर रोका नेतृत्वको टोलीले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवामै पुगेर राहत सामग्री हस्तान्तरण गरेका छन् । कठिन र जोखिमपूर्ण यात्रा पार गर्दै पुगेको टोलीले रसुवास्थित उत्तरगया गाउँपालिकाका बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्नुका साथै करिब एक लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।
टोलीले उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल र उपाध्यक्ष चमेली गुरुङलाई राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ । बाढीबाट प्रभावित तथा विस्थापित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर राहत सामग्री जुटाइएको नेता रोकाले जानकारी दिए । टोलीमा जिबन गौतम, सुरज मगर, सागर पण्डित, प्रकास पौडेल, बिबेक बिस्वकर्मा सहभागी थिए ।
राहत सामग्रीमा जीवनजल, ग्लोभ्स, स्यानिटाइजर, मास्क, सिटामोल, खानेपानी, चाउचाउ, बिस्कुट, नुहाउने तथा लुगा धुने साबुन, ब्रस, कोलगेट र स्याम्पु लगायतका सामग्री रहेका छन् । करिब ५० परिवारलाई पुग्ने गरी सामग्रीको छुट्टाछुट्टै सेट तयार पारेर वितरण गरिएको टोलीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गरेपछि नेता रोकाले बाढीप्रभावित क्षेत्रको अवस्था मरुभूमीजस्तै बनेको सुनाए । बाढीका कारण घरबार गुमाएका तथा प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, स्वास्थ्य सामग्री र दैनिक उपभोग्य वस्तुको तत्काल आवश्यकता देखिएको टोलीले जनाएको छ । राहतसँगै प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्ने र आवश्यक सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले स्थलगत अनुगमन गरिएको उनको भनाई छ ।
राहत सामग्री बुझ्दै उत्तरगया गाउँपालिकाका अध्यक्ष अर्याल र उपाध्यक्ष गुरुङले विपद्को समयमा सहयोग लिएर प्रभावित क्षेत्रमा पुगेकोमा टोलीप्रति आभार व्यक्त गरे । रोका माण्डवी गाउँपालिका प्यूठानका निवर्तमान अध्यक्ष समेत हुन् ।