प्यूठान : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानको पार्टी कार्यालय केपी शर्मा ओली पक्षले कब्जा गरेको छ । आइतवार विजुवार खेलकुद मैदान नजिकै रहेको पार्टी कार्यालयमा ओली निकटका राष्ट्रिय यूवा संघ प्यूठानका नेताहरुले ताल्चा लगाएका छन् । साविक नेकपा एमालेको जिल्ला कमिटीले निर्माण गरेको पार्टी कार्यालयसँग आफूहरुको पौरख जोडिएकाले अरुको हातमा नदिने नेताहरुले बताएका छन् ।

यूवा संघका केन्द्रिय सदस्य एवं प्यूठान इन्चार्ज विनोद ओलीको नेतृत्वमा पुगेको टोलीले प्यूठानमा रहेको पार्टी कार्यालयसँग आफूहरुको पौरख गाँसिएको सुनाए । साविक एमालेले उक्त कार्यालयलाई उमेश स्मृती भवनको रुपमा निर्माण गरेको थियो । दुई पार्टी मिलेपछि बनेको नेकपाको नयाँ कार्यालय समेत यसैलाई बनाइएको थियो । जुम्रीमा रहेको साविक माओवादीको कार्यालयलाई जनवर्गिय संगठनहरुको कार्यालय र एमालेको कार्यालयलाई पार्टी कार्यालयको रुपमा संचालन गर्ने नेकपाको सहमती थियो । एकाएक पार्टी विभाजन भएपछि नेता कार्यकर्ताहरु साविकको आफ्नो कार्यालय आफ्नै कब्जामा ल्याउन थालेका हुन् ।

पार्टी कार्यालय कब्जा पछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं नेकपा केन्द्रिय सदस्य हुकुम बहादुर खड्का, माण्डवी गाउँपालिका अध्यक्ष एवं नेकपा जिल्ला सचिवालय सदस्य श्रीधर रोका, नेता विनोद ओली र मधुर शर्मा लगाएतले नेकपा विभाजनपछि प्यूठानका बहुमत नेता, कार्यकर्ताहरु केपी शर्मा ओलीको पक्षमा उभिएको बताए । कार्यक्रमको सहजीकरण यूवा नेता लिला जिसीले गरेको थिए ।