बुटवल : देशकै प्रमुख व्यापारिक केन्द्र बुटवल उपमहानगरपालिकामा एमालेले मुस्लिम समुदायबाट प्रतिनिधित्व हुने गरी वडा नं ५ को अध्यक्षको उमेदवार बनाएको छ । अर्घाखाँची स्थायी घर भई हाल बुटवलमा २९ वर्षअघि बसाईसराई आएका जलिल मियाँलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।
एमालेबाट वडा अध्यक्षमा पहिलोपटक मुस्लिम समुदायबाट प्रतिनिधित्व हुँदा बुटवलमा बसोबास गर्ने मुस्लिम समुदायमा बेग्लै उत्साह जागेको छ । बुटवल उपहानगरपालिकामा करिब ३ हजार २ सय मतदाता मुस्लिम समुदायबाट मात्रै छन् । बुटवलमा रेडिमेड फेन्सी, काँचो कपडा, जुत्ता चप्पल, कस्मेटिक, प्लास्टिकजन्य सामग्री, भाडावर्तन लगाएत व्यवसायमा मुस्लिम समुदायका व्यवसायीहरुको बर्चश्व छ ।
सरल आनीबानी र मुस्लिम समुदायमा लोकप्रिय व्यक्तित्वका रूपमा परिचित मियाँ २०४५ सालमा अनेरास्वबियु (पाँचौं) मा आबद्ध भई २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । २०४८ देखि विद्यार्थी राजनीतिबाट सक्रिय राजनीति गर्दै आएका उनी ०५३ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका हुन् । २०५४ मा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको इलाका अध्यक्ष हुँदै मियाँ २०५५ सालमा गाउँ कमिटी सचिवको जिम्मेवारी बहन गरेका थिए ।
२०६० मा रुपन्देही बसाईसराई गरी आई मुस्लिम ईत्तेहाद संगठन बुटवल उपमहानगरपालिका कमिटीको अध्यक्ष पदमा रहि सक्रिय भूमिका खेलेको इतिहास छ । २०६६ मा रुपन्देही क्षेत्र नं ४ को क्षेत्रिय कमिटी सदस्यमा निर्वाचित र २०६८ सालमा नेपाल मुस्लिम ईत्तेहाद संगठनको पाँचौं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।
नेकपा एमाले रुपन्देही जिल्लाको सातौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भई चौंथो कार्यकालको रूपमा सक्रिय भूमिका निभाउँदै आएका थिए । रुपन्देही क्षेत्र नं २ को सह संयोजकको रूपमा समेत सक्रिय जिम्मेवारी पुरा गर्दै आए । मियाँ बुटवल क्षेत्रका दर्जनौं सामाजिक संघ संस्थामा समेत रहेर सामाजिक सेवामा सक्रिय भूमिका निभाउँदै आएका छन् । मियाँले वडा नं ५ मा सामाजिक तथा पूर्वाधार विकास तर्फ थुप्रै योजनाहरु प्रतिबद्धताका रूपमा अघि सारेका छन् ।