प्यूठान : सरुमारानी गाउँपालिका प्यूठानले गाउँपालिका केन्द्र बड्डाँडा बजारदेखि धार्मिक एवं पर्यटकीय तीर्थयस्थल ऐरावती मन्दिर जोड्ने सडकको डेढ किलोमिटर खण्डमा कालोपत्रे गरेको छ । बड्डाँडादेखि ऐरावतीसम्मको दुरी २७ किलोमिटर छ ।
अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी कुल १ किलोमिटर ६ सय मिटर दुरी सडक कालोपत्रे भइसकेको गाउँपालिकाका प्रवक्ता एवं ४ नम्वर वडा अध्यक्ष चिन्त बहादुर सोमैमगरले जानकारी दिए । यस खण्डको १० किलोमिटर ग्राबेल र बाँकी खण्ड कच्ची रहेको उनले बताए ।
आगामी आर्थिक वर्षका लागि सडक स्तरोन्नती र कालोपत्रे गर्नका लागि १ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको सोमैले बताए । २७ किलोमिटर पुरै सडक कालोपत्रे गरेर ऐरावतीको पर्यटन प्रवद्र्धन गर्नसके समग्र जिल्लाको अर्थतन्त्रमा टेवा पुग्न सक्ने स्थानीयको आशा छ । सडक कालोपत्रे भएपछि हंसपुर सहित जोडिएको अर्घाखाँचीका नागरिकहरु समेत प्रत्यक्ष लाभांवित भएका छन् । बडडाँडा र हंसपुर क्षेत्र व्यवासयिक कृषि खेतीका लागि जिल्लाकै पकड मानिन्छन् । सहज सडकले त्यसको पनि बजारीकरणमा किसानलाई उत्साह थप्ने छ । अदुवा, बेसार, तेजपात, दालचिनी र बाख्रापालन गर्ने सयौँ किसानहरु यस क्षेत्रमा छन् ।
गाउँपालिकाले यसअघि वडा नम्वर ८ स्थित दर्भान–मैदान सम्म ३ सय २० मिटर र दर्भान बजार आवाशिय क्षेत्रमा करिव १ सय ५० मिटर सडक कालोपत्रे गरेको छ । आगामी आर्थिक वर्षका लागि १४ नम्बर नर्सरीदेखि आटीटार हुँदै वडा नम्बर १ को वडा कार्यालय पुग्ने मोटरबाटो कालोपत्रको लागि २५ लाख रुपैयाँ र वडा नम्वर ८ को दर्भान प्रहरीचौकीदेखि रत्नेसम्म मोटरबाटो कालोपत्रको लागि १२ लाख रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिका प्रवक्ता सौमेमगरले जानकारी दिए ।