प्यूठान : प्यूठान नगरपालिका – ३ मा अवस्थित पर्यटकीय क्षेत्र लभडाँडामा मोटरबाटो पुगेको छ । ओखरबोट गाउँमाथी रहेको डाँडामा मोटरबाटो पुगेसंगै यहाँ घुमफिर गर्न सहजता थपिएको छ । गत आर्थिक वर्षको पाँच लाख रुपैयाँ बजेटले ट्रयाक जोडिएर करिव सातसय मिटर मोटरबाटो निर्माण गरिएको प्यूठान नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी गराए ।
लभडाँडाबाट माडी उपत्यका, सदरमुकाम खलंगा र झिमरुक फाँट उपत्यका नजिकबाट अवलोकन गर्न सकिन्छ । यहाँ सानो भ्यू टावर, प्रतिक्षालय, बस्ने कुर्सीहरुको समेत व्यवस्था मिलाइएको छ । नगरपालिकाले लभडाँडालाई पर्यटकीय स्थलको रूपमा बिकास गर्न गुरुयोजना बनाएको वडा अध्यक्ष श्रेष्ठले बताए । अबको नीति तथा बजेट विनियोजनमा यस क्षेत्रमा पर्यटकीय पूर्वाधारका संरचनाहरु थप्दै जाने योजना बनाएको उनले सुनाए । हरके वर्षको फागूपूर्णिमाको दिन यहाँ विशेष घुइँचो लाग्ने गर्छ ।