प्यूठान : पाँच पटक म्याद थपिदासम्म निर्माण कार्य सम्पन्न हुन नसकेको प्यूठानको स्वर्गद्वारी नगरपालिकास्थित जलुके–नल्सी पक्की पुलको काम अघि बढ्ने भएको छ । आठ वर्ष अघि मृत सञ्जिवनी÷लोहनी ब्रदर्श निर्माण कम्पनीले ९ करोड ८५ लाखमा कामको जिम्मा लिएको थियो ।
‘पछिल्लो पटक सम्झौता गरेको मिति पनि सकियो’, स्वर्गद्वारी नगरपालिकाका मेयर टेक प्रसाद भण्डारीले भने, ‘ठेकेदारले १० प्रतिशत पेनाल्टी तिरेर भएपनी काम सकाउने प्रतिबद्धता गरेका छन् ।’ प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीको विशेष सक्रियतामा जिल्ला समन्वय समितिको सभा हलमा अलपत्र परेका विकास निर्माणका योजना सुचारु गराउने सम्बन्धमा भएको सर्वपक्षीय बैठकमा निर्माण कम्पनीका प्रतिनिधि आनन्द लोहनीले फागुन मसान्तसम्म निर्माण कार्य सक्ने प्रतिबद्धता गरेका छन् ।
२०७३ वैशाख १६ गते सम्झौता भएको पुल २०७५ कार्तिक १५ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेको सडक डिभिजन कार्यालय जसपुर प्यूठानका प्रमुख इन्जिनियर विसुनदास लामाले जानकारी गराए । ‘५ पटक सम्म म्याद थपियो अब २ सय दिनभित्र जरिवानामा निर्माण कम्पनीले पुल बनाउनु पर्नेछ ।’ लामाले बताए ।