माण्डवी (प्यूठान) : शनिबार आफ्नै घरमा मृत अवस्थामा भेटिएका माण्डवी गाउँपालिका २ रातापानीका ६० वर्षीय राम बहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकुमा परियारको हत्या आफ्नै भतिज ३४ वर्षीय पंकज परियारले गरेको पुष्टि भएको छ । प्यूठान प्रहरीले २४ घण्टा भित्रमै हत्या गर्नेको पुष्टि गरेको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानमा आयोजित पत्रकार सम्मेलन मार्फत घटनाबारे जानकारी गराइएको छ । पछिल्लो समय प्यूठानमा आफ्नै परिवारबाट हत्या हुने गरेका घटनामा दोषीको पहिचानमा प्रहरीलाई सफलता मिलेको छ ।
एकसाता अघि मृतक काका राम बहादुर परियारले भतिज पंकजलाई ‘विवाह गरेनस् थारो बस्ने भइस्’ भनेर गालीगलौज गरेकाले त्यसै दिनदेखि पंकजले हत्या गर्ने योजना बनाएको प्रहरीले बताएको छ । पंकजलाई श्रीमतीले छोडेको भन्दै अबदेखि श्रीमती तैंले पाउन्नस भन्दै थारो भनेकाले त्यही रिसीबीले हत्या गरेको उनले स्वीकारेका छन् ।
मृतक राम बहादुर पेसाले मिस्त्री हुन । उनकै घरमा रहेको घन निकाली राती सुतेको समयमा पहिला काकालाई तीनपटक घनले टाउकोमा हानेको र त्यसपछि काकीलाई पनि तीनपटक नै घनले हानेको प्रहरीले जानकारी गराएको छ ।
जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिने प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेश बस्यालले बताए । टाउको तथा शरीरका विभिन्न भागमा देखिएको चोटहरुलाई अध्ययन तथा विश्लेषण गर्दा हत्या गरिएको प्यूठान प्रहरीको निष्कर्ष रहेको डिएसपी दिपेश बस्यालले जानकारी गराए । परियार दम्पतीलाई घातक हतियार प्रयोग गरी विभत्स तवरले हत्या गरिएको अवस्थामा फेला पारिएको थियो ।
डिएसपी बस्यालकै कमाण्डमा घटनास्थललाई शिलबन्दी गरी म्यानुल तथा प्राविधिक तवरले अनुसन्धान अघि बढाइरहेको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक केशव केसीले जानकारी गराए । अन्य शंकास्पदहरु माथि सोधपुछ, सबूत प्रमाणको खोजि, तालिम प्राप्त कुकुर परिचालन गरी अनुसन्धान थालिएको छ ।