प्यूठान : जेनजी आन्दोलनपछि हरेक पार्टीले पार्टी र सांसद्का जेनजी पुस्तालाई अवसर दिन थालेका छन । सोही अनुसार नेपाली कम्युनिस्ट पार्टी प्यूठानले पनि ऐरावती गाउँपालिका–४, तिल्केनी निवासी २६ वर्षीय प्रेमबहादुर विश्वकर्मालाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । विश्वकर्मा सहित सात जनालाई सिफारिस गरिएको हो । उनीहरुमध्येबाट एक जनाको नाम पार्टी केन्द्रले निर्णय गरेर पठाउने छ ।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ । आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्दै प्रतिनिधिसभा विघटन गरी २०८२ फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेका थिए । निर्वाचन घोषणापछि राजनीतिक दलहरू उम्मेदवार छनोटमा जुटिरहेका छन् ।
प्रेमका बुवा ओमबहादुर विश्वकर्मा २०५५÷५६ सालदेखि जनयुद्धमा सहभागी थिए । उनी निरन्तर पूर्णकालीन कार्यकर्ता रहे। जनयुद्धपछि गणतन्त्र स्थापना भए पनि उनको जीवनमा खासै परिवर्तन आएन। उनी पुनः पुरानै ज्यालामजदुरीको पेशामा फर्किएका थिए । पाँच जना छोराछोरी, श्रीमती र आफू गरी सात जनाको परिवार पाल्दै आएका ओमबहादुर विश्वकर्माको २०६८ पौष २८ गते कामकै सिलसिलामा छिमेकी गाउँ जाँदा बाटोमै दुर्घटनामा परी मृत्यु भयो । बुवाको निधनपछि परिवार गम्भीर आर्थिक अभावमा प¥यो। रासन र अन्नको अभावमा कयौं रात भोकै बिताउनुपरेको प्रेम बताउँछन् ।
पारिवारिक अवस्था कमजोर भएपछि १२ वर्षकै उमेरमा प्रेम रोजगारीका लागि भारत जान बाध्य भए। पढाईमा अब्बल भए पनि केही समय अध्ययनबाट टाढिनुपरेको उनले सुनाए। झण्डै एक वर्ष भारत बसेपछि आमाले वैदेशिक रोजगारीका लागि कुवेत जाने निर्णय गरेपछि प्रेमबहादुर नेपाल फर्किएर पुनः पढाई सुरु गरे।
निरन्तर मेहेनतका साथ अध्ययन गर्दै आएका विश्वकर्माले स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्नातक तहमा क्याम्पस टप गरे। हाल उनी छात्रवृत्तिमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत छन् । पढाइसँगै उनी सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। २०७३ चैत १८ गतेदेखि जिल्ला बालसञ्जाल प्युठानको अध्यक्षका रूपमा कार्यरत रहँदा उनले बालविवाह अन्त्य, बालश्रम रोकथाम तथा बालअधिकार संरक्षणका क्षेत्रमा काम गरेका थिए ।
त्यसैगरी, उनी तीन वर्षभन्दा बढी समय अखिल (क्रान्तिकारी) प्युठानको अध्यक्ष रहेर विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । हाल उनी अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य छन् । बुवाको निधन भएको १४ वर्षपछि प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनु विश्वकर्माको व्यक्तिगत उपलब्धि मात्र नभई संघर्षबाट हुर्किएको पुस्ताको राजनीतिक प्रतिनिधित्वका रूपमा पनि हेरिएको छ ।