प्यूठान : भारतको उत्तरप्रदेशस्थित पिलीभीतमा नेपाली यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुर्घटना मंगलबार बिहान करिब २ बजेको समयमा भएको हो ।
स्वर्गद्वारी गौमुखी यातायात प्रालिद्वारा सञ्चालित बा.प ०३–००१ ख २६७६ नम्बरको बस प्यूठानबाट दिल्ली जाँदै गर्दा विपरीत दिशाबाट आएको मालबाहक ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। बसमा ३८ जना यात्रु सवार थिए ।
दुर्घटनामा प्यूठान नगरपालिका – ८, खप्रेङखोलाका ११ वर्षीय सुवम रूचालको मृत्यु भएको छ। रूचाल आफ्ना बुबासँग दिल्ली जाँदै थिए। मृतकको शव पोस्टमार्टमपछि भोलि नेपाल ल्याइने जानकारी प्राप्त भएको छ ।
दुर्घटनामा १२ जना यात्रु घाइते रहेका छन्, जसमा २ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमध्ये बस चालक हुकुम पुन र एक जना महिला यात्रु रहेकी छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक जानकारीअनुसार सडकमा हिँडिरहेको गाईलाई जोगाउने क्रममा ट्रक अनियन्त्रित भई बसमा ठोक्किन पुगेको बताइएको छ ।
घाइतेहरूको उपचार तथा व्यवस्थापनका लागि सहजीकरण गर्न प्यूठानबाट ३ जना कर्मचारी पठाइसकिएको स्वर्गद्वारी गौमुखी यातायात प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी गराए । दुर्घटनाबारे जानकारी स्वर्गद्वारी गौमुखी यातायात प्रालिका सल्लाहकार हिमाल पोख्रेलले गराएका छन्।