प्यूठान : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको आयोजनामा ४० औँ जिल्लास्तरीय जुनियर तथा युवा गोष्ठी प्यूठानको बाग्दुलामा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीको आतिथ्यता व्यवस्थापन जुनियर रेडक्रस सर्कल, जनता मावि बाग्दुलाले गरेको छ ।
जिल्लाभरका ९३ आधारभूत तथा माध्यमिक विद्यालयबाट प्रति विद्यालय एक जना शिक्षक नायक र दुई जना जुनियर विद्यार्थी प्रतिनिधिको सहभागिता रहेको थियो । वर्षभरि जुनियर रेडक्रस सर्कलहरूले सञ्चालन गरेका क्रियाकलापको प्रतिवेदन प्रस्तुति, समीक्षा तथा आगामी कार्ययोजना निर्माण गर्ने उद्देश्यले हरेक वर्ष घुम्ती प्रणालीअनुसार आयोजना हुने गोष्ठी यसपटक बाग्दुलामा सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीका अनुसार गोष्ठीले विद्यालयस्तरमा रेडक्रस गतिविधिलाई थप सशक्त बनाउँदै नेतृत्व विकास र स्वयंसेवी भावना अभिवृद्धिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
शुक्रबारदेखि सुरु भएको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले युवामा स्वयंसेवी भावना विकास गर्दै उनीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले विद्यालयस्तरबाटै मानवीय सेवाका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । जुनियर तथा युवा रेडक्रस सर्कलले विद्यालय र समुदायस्तरमा मानवीय सेवा, विपद् व्यवस्थापन, स्वास्थ्य सचेतना, रक्तदान प्रेरणा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएकोमा नगरप्रमुख योगीले प्रसंशा गरे ।
जनता मावि बाग्दुला व्यवस्थापन समितिका अध्यक्ष यज्ञविर पाण्डेको अध्यक्षता तथा प्रधानाध्यापक इन्द्रमणि पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक खिमबहादुर राउतले गरेका थिए ।
पहिलो दिन उद्घाटन सत्रसँगै शिक्षक नायक र विद्यार्थी प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ भने उत्कृष्ट सर्कल र व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। दोस्रो दिन आज शनिबार बिहान शान्ति पदयात्रा आयोजना गरिने र ‘बाग्दुला घोषणा पत्र’ जारी गर्दै गोष्ठी समापन गरिएको सभापति पुलामीले जानकारी दिए । गोष्ठीले अनुभव आदान–प्रदान, सिकाइ सुदृढीकरण र आगामी योजना निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरुले विश्वास लिएका छन् ।