प्यूठान : प्रतिनिधि सभाको निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) लाई जिल्ला अनुगमन समितिले सचेत गराइएको छ ।
जिल्ला प्रशासन कार्यालय प्यूठानका अनुसार मन्त्री थापा नेपाली कांग्रेसका उम्मेदवार प्रा.डा गोविन्दराज पोख्रेलको पक्षमा घरदैलो तथा चुनावी सभामा खुलेआमा सहभागी भएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले उनलाई आचारसंहिता पालना गर्न निर्देशन दिँदै अब प्रचारमा आउँदा सम्बन्धित निर्वाचन कार्यालयबाट स्वीकृति लिएर मात्र सहभागी हुनुपर्ने बताएकी छन् ।
‘मन्त्रीज्यूलाई हामीले सचेत गराएका छौं’, शर्माले भनिन्, ‘अब आउँदा सम्बन्धित निकायबाट स्वीकृत लिएर आउँछु भन्नु भएको छ ।’ निर्वाचन आयोग नेपालको आचारसंहिता अनुसार सरकारी तथा सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो पद वा सरकारी स्रोतसाधन प्रयोग गरी चुनावी प्रचार गर्न पाउँदैनन् । जिल्ला प्रशासन कार्यालयले सबै पक्षलाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह समेत गरेको छ । आचार संहिता उल्लंघनपछि मन्त्री राणाको चौतर्फी आलोचना भएको थियो ।