प्यूठान : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै १५ शीर्षकमा आधारित प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ ।
‘सुशासन र रोजगारी, समाजवादको तयारी; राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारासहित सार्वजनिक गरिएको प्रतिवद्धता–पत्रमा जिल्लाको समग्र विकास र नागरिक जीवनस्तर उकास्ने योजनाहरू समेटिएका छन् ।
पत्रमा सडक पूर्वाधार, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, कृषि र पशुपालन, वन–वनपैदावार र जडिबुटी, पर्यटन, भाषा, धर्म र संस्कृति, खानेपानी र सिँचाइ, शहरी विकास, ऊर्जा र विद्युतिकरण, उद्योग तथा खनिज, सञ्चार र सूचना प्रविधि, युवा, खेलकुद र रोजगारी, भू–संरक्षण र विपद् व्यवस्थापन, सामाजिक न्याय, सुशासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी योजनाहरू समावेश छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा नेकपाबाट प्रतिनिधि सभा सदस्य पदका लागि लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका कृष्णध्वज खड्का उम्मेदवार रहेका छन् । पार्टीले प्रतिवद्धता–पत्रलाई प्यूठानको दीगो विकासको आधार दस्तावेजका रूपमा अघि बढाउने जनाएको छ ।