प्यूठान : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारमा हिँडिरहेको पिकअप जीपले स्कुटर र मोटरसाइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन्।
दुर्घटना आज मध्यान्ह करिब १२ बजे प्यूठान नगरपालिका–७ टिकुरी नजिकै भएको हो। बाग्दुलाबाट विजुवारतर्फ जाँदै गरेको लु १ च ७७६९ नम्बरको जीपले विपरीत दिशाबाट आउँदै गरेका रा.छ.प ६९४६ नम्बरको स्कुटर र रा.५.प ४६८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने जीप पनि पल्टिएको थियो।
स्कुटरमा सवार दाङबाट प्यूठान आउँदै गरेका लमही–६ देउपुर निवासी २६ वर्षीय दिपक पोख्रेलको दाहिने हात भाँचिएको छ भने उनकी श्रीमती २५ वर्षीया सुजना भण्डारीको दुवै हातखुट्टामा चोट लागेको छ। पोख्रेललाई बुटवल रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ।
मोटरसाइकल चालक प्यूठान नगरपालिका–५ जुम्रीकाँडा निवासी २० वर्षीय जीवन विश्वकर्माको दुवै हातखुट्टामा चोट लागेको छ। पछाडि सवार २१ वर्षीय रेशम खड्काको टाउकोमा चोट लागेको छ। घाइतेहरूको प्यूठान अस्पताल, विजुवारमा उपचार भइरहेको छ।
घाइतेहरूका अनुसार जीप तीव्र गतिमा अनियन्त्रित रूपमा आएको थियो। जीप चालकलाई अस्थायी प्रहरी पोस्ट बाग्दुलाले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।