प्यूठान : प्यूठानका सवै मतदान केन्द्रमा तयारी पुरा भएको छ । जिल्लामा कुल १ सय ५८ मतदान स्थल कायम गरिएको छ । ती मतदान स्थल अन्तर्गत २३० वटा मतदान केन्द्र तोकिएका छन् भने २ वटा अस्थायी मतदान केन्द्र पनि व्यवस्था गरिएको छ । निर्वाचन सम्पन्न गराउन जिल्लामा कुल १ हजार ३८० कर्मचारी खटिने भएका छन्। मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गराउन आवश्यक जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा कुल १ लाख ६५ हजार ४ सय ६ मतदाता रहेका छन्। जसमध्ये पुरुष ८१ हजार ३६६, महिला ८४ हजार ०३९ र अन्य १ जना रहेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।